२०८२ वैशाख १० बुधवार | Wednesday, Apr 23 2025

आइपिएलमा हारमा मुम्बईको ह्याट्रिक, घरमै राजस्थानसँग ६ विकेटले पराजित

Untitled
Untitled
Untitled

एजेन्सी, भारतमा जारी इण्डियन प्रिमियर लिग ( आइपिएल ) मा पाँच पटकको विजेता मुम्बई इण्डियन्सले लगातार तेस्रो हार बेहोरेको छ ।

हारमा ह्याट्रिक गर्नेक्रममा मुम्बई गएराति सम्पन्न खेलमा घरेलु मैदानमै राजस्थान रोयल्ससँग ६ विकेटले स्तब्ध भयो ।

ऊ पहिलो र दोस्रो खेलमा क्रमशः गुजरात र हैदराबादसँग पराजित भएको थियो । यता राजस्थानले भने लगातार तेस्रो जीत निकालेको छ ।

आफ्नो तेस्रो खेलमा मुम्बईले दिएको १२६ रनको सामान्य लक्ष्य राजस्थानले १५ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि रियान परागले ३९ बलमा पाँच चौका र तीन छक्कासहित ५४ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै, रविचन्द्रन आश्विनले १६, जोस बटलरले १३ र कप्तान सञ्जु सामसनले १२ रन बनाए ।

मुम्बईका लागि आकाश मठवालले तीन तथा क्वेना मफाकाले एक विकेट लिए । त्यसअघि वानखडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन बनायो ।

उसका लागि कप्तान हार्दिक पाण्ड्याले सर्वाधिक ३४ रन बनाए । यस्तै, तिलक वर्माले ३२, टिम डेविडले १७ रन तथा ओपनर इशान किशनले १६ रन बनाए ।

राजस्थानका लागि ट्रेन्ट बोल्ट र युजवेन्द्र चहलले तीन/तीन तथा नान्द्रे बर्गरले दुई विकेट लिए ।

यो जीतपछि राजस्थान शीर्ष स्थानमा उक्लिएको छ । अंकविहीन मुम्बई भने तालिकाको पुछारमा कायमै छ ।

 

Untitled
Untitled
Untitled