२०८३ साउन ८ शुक्रवार | Friday, Jul 24 2026

कांग्रेसभित्र शक्ति संघर्ष उत्कर्षमा, बीपी स्मृति दिवसमै सभापति थापाविरुद्ध इतर समूहको खुला विद्रोह

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रम पार्टी एकताको सन्देश दिनेभन्दा पनि आन्तरिक शक्ति संघर्षको खुला प्रदर्शन गर्ने मञ्च बनेको छ।

काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार सम्पन्न कार्यक्रममा कांग्रेसको इतर समूहका नेताहरूले सभापति गगन थापाको नेतृत्वमाथि एकपछि अर्को गर्दै कडा प्रहार गरेपछि पार्टीभित्रको विवाद सतहमै आएको छ।

कार्यक्रममा सहभागी अधिकांश नेताले वर्तमान नेतृत्वले कांग्रेसको वैचारिक दिशा, संगठनात्मक संरचना र लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाएको आरोप लगाए।

उनीहरूले सभापति थापाले एकल निर्णय गर्ने, असहमतिलाई बेवास्ता गर्ने र पार्टीलाई विभाजनतर्फ धकेल्ने शैली अपनाएको दाबी गरे।

उद्घाटनदेखि नै आक्रामक अभिव्यक्ति

कार्यक्रमको शुरुवातमै भक्तपुर कांग्रेसका जिल्ला सभापति तथा पूर्वसांसद दुर्लभ थापाले विशेष महाधिवेशनबाट आएको नेतृत्वकै कारण पार्टीको साख खस्किएको आरोप लगाए।

उनले पार्टीको केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ताले दबाब सिर्जना गर्नुपर्ने अभिव्यक्ति दिएपछि सभाहल केहीबेर तनावग्रस्त बनेको थियो।

विद्यार्थी नेताको पनि नेतृत्वमाथि आक्रमण

कार्यक्रममा विद्यार्थी नेताहरूले पनि नेतृत्वविरुद्ध खुला असन्तुष्टि व्यक्त गरे।

शंकरदेव क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुशान्त बस्नेतले पूर्वसभापति शेरबहादुर देउवाको निवासमा भएको तोडफोड र लुटपाट घटनामा सभापति थापा निकट कार्यकर्ता संलग्न रहेको आरोप लगाए।

विद्यार्थी नेतृ सृजना मल्ल र पूर्वविद्यार्थी नेता कुन्दनराज काफ्लेले पनि थापाको नेतृत्व क्षमता र सार्वजनिक अभिव्यक्तिमाथि प्रश्न उठाए।

काफ्लेले कांग्रेस अहिले गम्भीर संकटमा पुगेको दाबी गर्दै नेतृत्व परिवर्तन अपरिहार्य बन्दै गएको धारणा राखे।

शीर्ष नेताबाटै नेतृत्वप्रति असन्तुष्टि

कांग्रेसका प्रभावशाली नेताहरूले समेत सभापति थापाको कार्यशैलीप्रति खुलेर असन्तुष्टि जनाए।

नेता डा. शेखर कोइरालाले पार्टीभित्र ूहुकुमी शैलीू हाबी भएको आरोप लगाउँदै नेतृत्वले संवादको बाटो नअपनाए दुर्घटना निम्तिन सक्ने चेतावनी दिए।

विमलेन्द्र निधिले पार्टी वैचारिक रूपमा विचलित भएको टिप्पणी गरे भने कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहले कांग्रेसलाई कब्जा गर्ने प्रयास भइरहेको आरोप लगाए।

प्रकाशमान सिंहले साउन २९ गते राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गर्दै त्यसपछि पार्टीको भावी रणनीति तय गरिने जानकारी दिए।

यस्तै, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आत्मसम्मानमा सम्झौता नगर्ने स्पष्ट पार्दै नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाए।

बीपी कोइरालाका पुत्र डा। शशांक कोइरालाले भने विवाद समाधानका लागि संवाद र सहमतिको बाटो रोज्न नेतृत्वलाई आग्रह गरे।

नयाँ पार्टी वा समानान्तर महाधिवेशन ?

कार्यक्रममा पूर्वमुख्यमन्त्री केदार कार्की, पूर्वमन्त्री मोहन बस्नेत, कान्छाराम तामाङ तथा सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरलगायत नेताहरूले वर्तमान नेतृत्वसँग सहकार्य कठिन बन्दै गएको संकेत गर्दै आवश्यक परे नयाँ राजनीतिक विकल्प निर्माण गर्नुपर्ने धारणा राखे।

इतर समूहका नेताहरूले साउन २९ गतेसम्म सहमतिको प्रयास सफल नभए समानान्तर महाधिवेशन आयोजना गरेर नयाँ नेतृत्व चयन गर्ने तयारीसमेत रहेको संकेत दिएका छन्।

कांग्रेसको भविष्य कुन दिशातर्फ ?

बीपी कोइरालाको लोकतान्त्रिक आदर्श स्मरण गर्ने दिनमै कांग्रेसभित्र यति तीव्र रूपमा असन्तुष्टि सार्वजनिक हुनु पार्टीका लागि गम्भीर राजनीतिक सन्देशका रूपमा हेरिएको छ।

यसले कांग्रेसभित्रको शक्ति संघर्ष अब आन्तरिक छलफलको सीमामा नरही सार्वजनिक राजनीतिक प्रतिस्पर्धामा रूपान्तरण हुन थालेको संकेत दिएको छ।

अब नेतृत्व र इतर समूहबीच संवाद र सहमति कायम हुन्छ कि पार्टी विभाजनतर्फ उन्मुख हुन्छ भन्ने प्रश्नले आगामी केही सातामा कांग्रेसको राजनीतिक भविष्य निर्धारण गर्ने देखिन्छ।

विशेषगरी साउन २९ का लागि घोषणा गरिएको राष्ट्रिय भेलापछि कांग्रेसको आन्तरिक समीकरणले नयाँ मोड लिन सक्ने राजनीतिक विश्लेषकहरूको आकलन छ।

Untitled
Untitled
Untitled