२०८३ साउन ७ बिहीवार | Thursday, Jul 23 2026

लगातारको वर्षाले देशभर सडक सञ्जाल प्रभावित : पाँच प्रदेशका प्रमुख राजमार्ग बन्द, कतिपयमा आंशिक सञ्चालन

Untitled
Untitled
Untitled

काठमाण्डू, निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न भागका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा गम्भीर रूपमा प्रभावित भएको छ।

नेपाल प्रहरी र सडक विभागका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकमा जोखिमका बीच एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

मनसुन सक्रिय भएसँगै पहाडी क्षेत्रमा पहिरो र खोलामा आएको बाढीले सडक संरचनामा क्षति पुर्‍याएको छ।

यसका कारण यात्रु, मालवाहक सवारी तथा अत्यावश्यक सेवासमेत प्रभावित बनेका छन्।

कोशी प्रदेशमा मध्यपहाडी लोकमार्ग र मेची राजमार्ग प्रभावित

कोशी प्रदेशअन्तर्गत भोजपुरको मध्यपहाडी लोकमार्गमा बाढीले सडक कटान गरेपछि एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ।

इलामको मेची राजमार्गमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको छ भने खोटाङको दिक्तेल–रुपाकोट खण्डअन्तर्गत मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण अवरुद्ध रहेको छ।

इलाममा स्थानीय प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

बागमतीमा रातिको यात्रा रोक, अरनिको राजमार्ग पूर्ण बन्द

बागमती प्रदेशमा जोखिम बढेपछि केही सडकमा रात्रीकालीन सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।

काभ्रेको बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन रोकिएको छ भने मकवानपुरको कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको छ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

दोलखाको लामासाँघु–रामेछाप सडक पनि बाढीका कारण बन्द हुँदा स्थानीय आवागमन प्रभावित बनेको छ।

गण्डकीका तीन मुख्य सडक पूर्ण रूपमा अवरुद्ध

गण्डकी प्रदेशमा पहिरोका कारण बागलुङको कालीगण्डकी करिडोर, लमजुङको बेंसीसहर–मनाङ सडक र म्याग्दीको बेनी–जोमसोम सडक पूर्ण रूपमा बन्द भएका छन्।

यी सडक अवरुद्ध हुँदा हिमाली जिल्लामा जाने यात्रु, पर्यटक तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत समस्या देखिएको छ।

कर्णाली र सुदूरपश्चिममा पनि यातायात प्रभावित

कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित भेरी करिडोर (जाजरकोट–डोल्पा सडक) बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

सुदूरपश्चिम प्रदेशको डडेलधुरामा रहेको के.आई. सिंह राजमार्गमा पहिरो खसे पनि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।

सम्बन्धित निकायले जोखिम कायम रहेकाले सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेका छन्।

थप जोखिमको चेतावनी

मौसमविद्हरूले अझै केही दिन देशका विभिन्न क्षेत्रमा वर्षा जारी रहने पूर्वानुमान गरेका छन्।

निरन्तर वर्षाका कारण नयाँ स्थानमा पहिरो जाने, नदी–खोलामा जलसतह बढ्ने र थप सडक अवरुद्ध हुने जोखिम कायमै रहेको छ।

नेपाल प्रहरीले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ।

यात्रा गर्नैपर्ने अवस्था आएमा सम्बन्धित जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी वा सडक विभागबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।

मनसुन सक्रिय रहेका बेला विशेषगरी पहाडी तथा हिमाली जिल्लाका सडकमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन र मौसम तथा सडक अवस्थाबारे नियमित जानकारी लिन सम्बन्धित निकायले सर्वसाधारणलाई अनुरोध गरेका छन्।

Untitled
Untitled
Untitled