२०८३ साउन ८ शुक्रवार | Friday, Jul 24 2026

प्रधानमन्त्री बालेनले आज चिया उद्योगीसँग छलफल गर्दै, निर्यात, उत्पादन र उद्योगका चुनौतीबारे केन्द्रित हुने

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आज नेपाली चिया उद्योगसँग सम्बन्धित व्यवसायी तथा उद्योगीहरूसँग प्रत्यक्ष छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भेटवार्तामा चिया उद्योगले हाल सामना गरिरहेका समस्या, निर्यातमा देखिएका चुनौती तथा उद्योगको दीर्घकालीन सुधारका उपायबारे विस्तृत संवाद हुनेछ।

सरकारले उत्पादनमूलक क्षेत्रका समस्या प्रत्यक्ष रूपमा सुन्ने र समाधानका सम्भावित उपाय खोज्ने उद्देश्यले आयोजना गरिएको छलफलमा चिया उद्योगका प्रमुख सरोकारवालाको सहभागिता रहनेछ।

बैठकमा अर्गानिक एसोसिएसन अफ नेपाल, गोर्खा टी स्टेट, हिमालयन सांग्रिला चिया उद्योग र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष तथा प्रतिनिधिहरू सहभागी हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

छलफलका क्रममा नेपाली चियाको अन्तर्राष्ट्रिय बजार विस्तार, निर्यात प्रक्रियामा देखिएका प्रशासनिक तथा प्राविधिक अवरोध, उत्पादन लागत, बजार प्रवर्द्धन तथा उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका विषयमा विशेष रूपमा कुराकानी हुने अपेक्षा गरिएको छ।

उद्योगीसँग संवादलाई निरन्तरता

प्रधानमन्त्री बालेनले पछिल्ला केही सातादेखि विभिन्न निजी क्षेत्रका प्रतिनिधिहरूसँग नियमित संवाद गर्दै आएका छन्।

यसअघि उनले नेपाल हस्तकला महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई), नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ, फुटवेयर व्यवसायी, सेयर लगानीकर्ता तथा तयारी पोसाक उद्योगका प्रतिनिधिहरूसँग भेटघाट गरी उनीहरूका समस्या र सुझाव सुनेका थिए।

प्रधानमन्त्री कार्यालयका अनुसार यस्ता भेटघाटमार्फत निजी क्षेत्रका गुनासा प्रत्यक्ष रूपमा बुझ्ने र नीतिगत सुधारका लागि आवश्यक सुझाव संकलन गर्ने प्रयास भइरहेको छ।

अर्थमन्त्री र सम्बन्धित मन्त्रीको अनुपस्थिति

यद्यपि प्रधानमन्त्रीले सञ्चालन गरिरहेका यी संवाद कार्यक्रमहरूमा अर्थमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीहरू भने सहभागी नभएको विषयले राजनीतिक र प्रशासनिक वृत्तमा चर्चा पाएको छ।

सरकारले भने प्रधानमन्त्रीको पहललाई सरोकारवालासँग प्रत्यक्ष संवाद गरी समस्या पहिचान गर्ने प्रारम्भिक चरणका रूपमा व्याख्या गरेको छ।

छलफलबाट प्राप्त सुझावलाई सम्बन्धित मन्त्रालयमार्फत कार्यान्वयन प्रक्रियामा लैजाने अपेक्षा गरिएको छ।

चिया नेपालको प्रमुख नगदे बालीमध्ये एक हो। विशेषगरी इलाम, झापा, पाँचथर, धनकुटा लगायतका जिल्लामा उत्पादित नेपाली अर्थोडक्स तथा अर्गानिक चिया अन्तर्राष्ट्रिय बजारमा परिचित मानिन्छ।

उद्योगीहरूले निर्यात प्रक्रिया सहज बनाउने, गुणस्तर प्रमाणीकरण, बजार विस्तार तथा सरकारी सहजीकरणको माग गर्दै आएका छन्।

Untitled
Untitled
Untitled