२०८३ साउन ९ शनिवार | Saturday, Jul 25 2026

-साथीको जन्मदिन मनाउन निस्किएका किशोर आठ दिनदेखि बेपत्ता, -बागलुङमा वृद्ध महिला पनि सम्पर्कविहीन

Untitled
Untitled
Untitled

बागलुङ, बागलुङमा घरबाट साथीको जन्मदिन मनाउन भन्दै निस्किएका एक किशोर आठ दिनदेखि सम्पर्कविहीन भएपछि परिवार गहिरो चिन्तामा परेको छ।

उता, सोही जिल्लामा एक ८० वर्षीया वृद्ध महिला पनि बुधबार बिहानदेखि बेपत्ता भएपछि प्रहरीले दुवै घटनामा खोजी तथा अनुसन्धान तीव्र बनाएको छ।

जन्मदिन मनाउन गएका किशोर अझै सम्पर्कमा आएनन्

बडिगाड गाउँपालिका–१ थानका १७ वर्षीय लजिन थापा साउन १ गते साँझदेखि बेपत्ता छन्।

परिवारका अनुसार उनी साँझ करिब ८ बजे नजिकैका साथीको जन्मदिन मनाउन जाने भन्दै घरबाट निस्किएका थिए।

छिट्टै फर्किन्छुू भनेर गएका लजिन त्यसयता घर नफर्किएको र सम्पर्कसमेत हुन नसकेको परिवारले जनाएको छ।

आठ दिन बितिसक्दा पनि कुनै जानकारी नआएपछि परिवार शोक र चिन्तामा डुबेको छ।

आफन्त, स्थानीयवासी र प्रहरीले निरन्तर खोजी गरिरहेका भए पनि उनको अवस्था अझै अज्ञात छ।

लजिनका बुबा बोमबहादुर थापाले छोराको प्रतीक्षामा बितेका दिन अत्यन्त पीडादायी बनेको बताए ।

ूआठ दिन भयो, छोराको कुनै खबर छैन। कहाँ छ, के अवस्थामा छ भन्ने चिन्ताले रातदिन सताइरहेको छ।

भगवानग एउटै प्रार्थना छ, मेरो छोरालाई केही नभएको होस्,ू उनले भावुक हुँदै भने ।

साथीहरूमाथि अनुसन्धान

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार लजिन बेपत्ता भएको दिन उनीसँग रहेका साथीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।

प्रहरीले लजिन सम्पर्कविहीन हुनुअघिका गतिविधि, उनीसँगको अन्तिम सम्पर्क र घटनाको सम्भावित कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ।

डीएसपी त्वातीका अनुसार घटनामा शंका लागेका केही व्यक्तिसँग विस्तृत बयान लिने काम भइरहेको छ र अनुसन्धानका आधारमा खोजीलाई थप प्रभावकारी बनाइएको छ।

वृद्ध महिला पनि सम्पर्कविहीन

यसैबीच, बडिगाड गाउँपालिका–१ किर्तुल नेपानेकी ८० वर्षीया भूमी सलामी पनि बुधबार बिहानदेखि सम्पर्कविहीन भएकी छन् ।

उनका छोरा यमबहादुर सलामीका अनुसार सुस्त मनःस्थितिमा रहेकी भूमि बिहान करिब ७ बजे घरबाट निस्किएकी थिइन ।

त्यसपछि उनी घर नफर्किएपछि परिवारले खोजी शुरु गरेको हो। स्थानीयवासीका अनुसार उनलाई बडिगाड गाउँपालिका–२ स्थित लब्दीखोला आसपास देखिएको थियो।

केही व्यक्तिले उनले खौलार बजारतर्फ जाने कुरा गरेको जानकारी दिएका छन्।

यस आधारमा परिवार, स्थानीयवासी र प्रहरीको टोलीले जलजला, खौलार तथा आसपासका क्षेत्रमा खोजी अभियान जारी राखेको छ।

खोजीमा सहयोग गर्न आग्रह

प्रहरीले दुवै घटनामा खोजी कार्यलाई तीव्र बनाएको जनाउँदै सम्बन्धित व्यक्तिहरूको अवस्थाबारे कुनै जानकारी भए तत्काल नजिकको प्रहरी कार्यालय वा स्थानीय जनप्रतिनिधिलाई खबर गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।

लगातार दुई जना सम्पर्कविहीन भएपछि बडिगाड क्षेत्रमा स्थानीयवासीसमेत चिन्तित बनेका छन् भने दुवै परिवार आफ्ना सदस्य सकुशल फेला पर्ने आशामा दिनरात प्रतीक्षा गरिरहेका छन्।

Untitled
Untitled
Untitled