काठमाण्डू, आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग महत्वपूर्ण प्रतिस्पर्धा गर्दैछ।
नेदरल्यान्ड्सको उट्रेक्टस्थित स्पोर्टपार्क मार्सचाल्करवेर्ड मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो २स्४५ बजे शुरु हुनेछ।
नामिबियासँग पहिलो खेलमा ८ विकेटको फराकिलो हार व्यहोरेपछि नेपाल दबाबमा परेको छ।
त्यसैले आजको खेल नेपालका लागि केवल दुई अंकको प्रतिस्पर्धा मात्र नभई विश्वकप छनोटको सम्भावना जीवित राख्ने ुगर या मरुको खेल बनेको छ।
जितको खोजीमा नेपाल
पहिलो खेलमा ब्याटिङ र बलिङ दुवै विभागमा अपेक्षित प्रदर्शन गर्न नसक्दा नेपाल सहजै पराजित भएको थियो। त्यस हारले अंक तालिकामा मात्र होइन, टोलीको विश्वकप छनोट यात्रामा पनि दबाब थपेको छ।
यस्तो अवस्थामा नेदरल्यान्ड्सविरुद्धको खेल नेपालका लागि पुनरागमन गर्ने अवसरका रूपमा हेरिएको छ। बलियो घरेलु टोलीलाई हराउन सके नेपालको आत्मविश्वास फर्किने मात्र होइन, शीर्ष चारमा पुग्ने दौड पनि खुला रहनेछ।
शीर्ष चारमा पुग्न अब गल्ती गर्ने ठाउँ छैन
आईसीसी विश्वकप लिग–२ को शीर्ष चार टोलीले सिधै एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन्।
नेपालले लिग चरणमा अब सात खेल खेल्न बाँकी रहेकाले शीर्ष चारमा पुग्ने सम्भावना कायम राख्न कम्तीमा छ खेल जित्नुपर्ने कठिन समीकरण बनेको छ।
यस सिरिजपछि नेपालले अन्तिम चरणमा क्यानडा र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्नेछ।
त्यसैले नेदरल्यान्ड्सविरुद्धको नतिजाले आगामी यात्राको दिशा तय गर्नेछ।
ओडीआई मान्यता जोगाउने अर्को लडाइँ
विश्वकप छनोटसँगै नेपालका लागि अर्को महत्वपूर्ण लक्ष्य एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता सुरक्षित गर्नु पनि हो।
लिग–२ को अन्त्यमा शीर्ष ६ स्थानमा रहने टोलीले आगामी चार वर्षसम्म ओडीआई मान्यता कायम राख्नेछन्।
त्यसका लागि नेपालले बाँकी खेलमध्ये कम्तीमा चार खेल जित्नुपर्ने अवस्था छ। यदि नेपालले लगातार खराब नतिजा बेहोरे शीर्ष ६ बाहिर पुग्ने जोखिम पनि रहनेछ।
घरेलु सफलतालाई निरन्तरता दिने चुनौती
नेपालले पछिल्ला दुई घरेलु त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार १२ अंक जोडेको थियो। त्यही प्रदर्शनका कारण विश्वकप छनोटको सम्भावना पुनः बलियो बनेको थियो।
तर, नामिबियासँगको हारले त्यो लयमा ब्रेक लागेको छ। अब नेदरल्यान्ड्सविरुद्धको खेल जित्दै नेपाल फेरि लय समात्ने लक्ष्यमा हुनेछ।
अंक तालिकामा नेपालको अवस्था
हालसम्म नेपालले २९ खेल खेल्दै ११ जित, १६ हार र २ खेलमा अंक बाँड्दै २४ अंक जोडेको छ। नेपाल अंक तालिकाको पाँचौँ स्थानमा रहेको छ भने समान २४ अंक भएपनि नामिबिया छैटौँ स्थानमा छ।
आजको प्रतिद्वन्द्वी नेदरल्यान्ड्सले २८ खेलमा १४ जित, १० हार र ४ खेलमा अंक बाँड्दै ३२ अंक जोडेर तालिकाको तेस्रो स्थानमा आफूलाई बलियो बनाएको छ।
यता, अमेरिका ४३ अंकसहित शीर्ष स्थानमा छ भने स्कटल्यान्ड ३८ अंकका साथ दोस्रो स्थानमा रहेको छ।
नेपालका लागि आजको खेलले केवल अंक तालिकाको अवस्था मात्र होइन, विश्वकप छनोटको सपना, ओडीआई मान्यता र अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो भविष्यसमेत निर्धारण गर्न सक्ने भएकाले सम्पूर्ण ध्यान यही खेलमा केन्द्रित भएको छ।


































