२०८३ साउन ५ मंगलवार | Tuesday, Jul 21 2026

स्पेन दोस्रो पटक विश्वविजेता, अतिरिक्त समयमा टोरेजको गोलले अर्जेन्टिनाको सपना चकनाचुर

Untitled
Untitled
Untitled

एजेन्सी,  फेरान टोरेजले विश्वकप २०२६ मा गरेको पहिलो गोल नै स्पेनका लागि इतिहास रच्ने गोल बन्यो।

अतिरिक्त समयमा गरेको उनको निर्णायक प्रहारको मद्दतमा स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक फिफा विश्वकप फुटबलको उपाधि जितेको छ।

अमेरिकाको न्युयोर्क–न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा आइतबार राति भएको रोमाञ्चक फाइनल निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा टुंगिएको थियो।

त्यसपछि थपिएको अतिरिक्त समयको १०६औँ मिनेटमा स्थानापन्न खेलाडी फेरान टोरेजले निको विलियम्सको उत्कृष्ट कटब्याक पासलाई सदुपयोग गर्दै विजयी गोल गरे।

स्पेनका कप्तान रोड्रीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोबाट विश्वकप ट्रफी ग्रहण गरे।

अमेरिका, क्यानडा र मेक्सिकोमा करिब पाँच सातासम्म चलेको विश्वकप २०२६ को २३औँ संस्करण यससँगै सम्पन्न भएको छ।

अर्जेन्टिनाको दोहोरो सपना अधुरै

साबिक विजेता अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्दै चौथो उपाधि हात पार्ने र ब्राजिलको चार उपाधिको कीर्तिमान बराबरी गर्ने लक्ष्यमा थियो।

तर, स्पेनसँगको हारले त्यो सपना अधुरै रह्यो। अर्जेन्टिनाले यसअघि सन् १९७८, १९८६ र २००२ मा विश्वकप जितेको थियो।

स्पेनको ऐतिहासिक अभियान

स्पेनले यसअघि सन् २०१० मा पहिलो पटक विश्वकप जितेको थियो। प्रशिक्षक लुइस डे ला फुएन्टेको नेतृत्वमा भने यो लगातार तेस्रो ठूलो अन्तर्राष्ट्रिय उपाधि हो।

उनले स्पेनलाई २०२३ मा यूईएफए नेसन्स लिग, २०२४ मा युरो कप र अब २०२६ मा विश्वकप जिताएका छन्।

विश्वकपभर स्पेनले आठ खेल खेल्दा केवल एक गोल मात्र बेहोरेको छ, जुन प्रतियोगिताको इतिहासमै सबैभन्दा कम गोल खाएर विश्वकप जित्ने टोलीको नयाँ कीर्तिमान बनेको छ।

स्पेनको महिला टोली पनि हाल विश्व र युरोपेली च्याम्पियन रहेकाले स्पेनिश फुटबलले विश्व रंगमञ्चमा पूर्ण प्रभुत्व कायम गरेको छ।

रातो कार्डले अर्जेन्टिनालाई महँगो

फाइनलको इन्जुरी समयमा अर्जेन्टिनाका इन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्डपछि रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो। विश्वकप फाइनलमा रातो कार्ड पाउने उनी छैटौँ खेलाडी बने।

त्यसअघि लामिने यामालको फ्रिकिकलाई अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले शानदार बचाउ गरेका थिए।

अतिरिक्त समयको सातौँ मिनेटमा निको विलियम्सले गोल गरे पनि फाउलका कारण त्यसले मान्यता पाएन। तर, त्यसको केही मिनेटपछि उनै निकोको पासमा टोरेजले गोल गर्दै खेलको फैसला गरे।

स्पेनको पूर्ण दबाब

फाइनलभर स्पेनले खेल नियन्त्रणमा राख्दै अर्जेन्टिनामाथि निरन्तर दबाब सिर्जना गरेको थियो।

स्पेनले विपक्षी पोस्टतर्फ २० वटा लक्षित प्रहार गरेको थियो भने अर्जेन्टिनाले खेलको अतिरिक्त समयसम्म स्पेनको पोस्टमा उल्लेखनीय अवसर नै सिर्जना गर्न सकेन।

स्पेनका गोलरक्षक उनाइ सिमोनले १२ वटा महत्वपूर्ण बचाउ गर्दै विश्वकप फाइनलमा सर्वाधिक बचाउ गर्ने गोलरक्षकको नयाँ कीर्तिमान बनाए।

यस जितसँगै स्पेनको अपराजित यात्रा ३९ खेल पुगेको छ, जसमा २९ जित र ९ बराबरी समावेश छन्।

उपाधिसँगै ५१ मिलियन डलर

विश्वविजेता स्पेनले सुनको ट्रफीसँगै ५१ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ।

उपविजेता अर्जेन्टिनाले ३४ मिलियन डलर पायो। तेस्रो भएको इंग्ल्यान्डले ३० मिलियन र चौथो स्थानमा रहेको फ्रान्सले २८ मिलियन डलर हात पारे।

विश्वकप २०२६ का प्रमुख व्यक्तिगत पुरस्कार

  • गोल्डेन बल (सर्वश्रेष्ठ खेलाडी) : रोड्री (स्पेन)
  • गोल्डेन ग्लोभ्स (सर्वश्रेष्ठ गोलरक्षक) : उनाइ सिमोन (स्पेन)
  • सर्वश्रेष्ठ युवा खेलाडी : पाउ कुबार्सी (स्पेन)
  • गोल्डेन बुट (सर्वाधिक गोलकर्ता) : किलियन एम्बाप्पे (फ्रान्स) – १० गोल
Untitled
Untitled
Untitled