चितवन, पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–२ फिस्लिङ क्षेत्रमा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।
निरन्तरको वर्षासँगै फिस्लिङस्थित पानीधारा र चुमखोलामा गएराति पहिरो खसेपछि आज बिहान २:२० बजेदेखि सडकमा सवारी आवागमन ठप्प भएको हो।
प्रहरीका अनुसार सडकमाथिबाट ठूलो परिमाणमा ढुंगा, माटो र रुखसहितको पहिरो खसेपछि सडक पूर्णरूपमा बन्द भएको छ।
पहिरोका कारण दुवैतर्फ चलिरहेका लामो तथा छोटो दूरीका सार्वजनिक सवारी, मालवाहक ट्रक, निजी सवारी तथा पर्यटक बोकेका सवारीसाधन सडकमै रोकिएका छन्। यात्रुहरू सडक खुल्ने प्रतीक्षामा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले पहिरो हटाउने कार्य बिहानैदेखि तीव्र रूपमा सञ्चालन भइरहेको जानकारी दिए।
उनका अनुसार सडक डिभिजन कार्यालय, सुरक्षा निकाय तथा सम्बन्धित निकायको समन्वयमा डोजर र आवश्यक उपकरण परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ।
मौसमले साथ दिएमा बिहान ९स्०० बजेसम्म एकतर्फी वा पूर्णरूपमा सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उनले बताए।
निरन्तरको वर्षाले पहाडी क्षेत्रको जमिन कमजोर बनेकाले थप पहिरो खस्ने जोखिम कायमै रहेको छ। त्यसैले पहिरो पन्छाउने कार्यका क्रममा सुरक्षालाई विशेष प्राथमिकता दिइएको प्रहरीले जनाएको छ।
मौसम प्रतिकूल रहेमा सडक सञ्चालनमा थप समय लाग्न सक्ने सम्भावना पनि रहेको छ।
यसअघि अत्यधिक वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले आइतबार राति १०:०० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै सवारीसाधन सञ्चालनमा अस्थायी रोक लगाएको थियो।
जोखिमपूर्ण क्षेत्रमा अनावश्यक यात्रा नगर्न र वैकल्पिक व्यवस्था अपनाउन प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको थियो।
मुग्लिन–नारायणगढ सडकखण्ड देशको प्रमुख राजमार्गमध्ये एक भएकाले यो सडक अवरुद्ध हुँदा काठमाडौं, पोखरा, चितवन तथा पश्चिम नेपालतर्फ आवतजावत गर्ने हजारौं यात्रु प्रत्यक्ष प्रभावित भएका छन्।
सडक सञ्चालनमा नआउँदासम्म यात्रु तथा सवारी चालकलाई सुरक्षित स्थानमा बस्न, प्रशासनको निर्देशन पालना गर्न र यात्रा अघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सम्बन्धित निकायले अनुरोध गरेका छन्।
प्रशासनका अनुसार पहिरो पूर्णरूपमा पन्छाइएपछि सडक पुनः सञ्चालनमा ल्याइनेछ।
साथै, निरन्तर वर्षा भइरहेकाले राजमार्ग आसपासका पहिरो प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।





































