२०८३ साउन ५ मंगलवार | Tuesday, Jul 21 2026

इरान–अमेरिका युद्ध थप उग्र : नवौँ दिनमा मिसाइल वर्षा, खाडी क्षेत्र तनावग्रस्त

Untitled
Untitled
Untitled

एजेन्सी, अमेरिका र इरानबीच जारी सैन्य द्वन्द्व नवौँ दिनमा प्रवेशसँगै थप उग्र बनेको छ।

दुवै पक्षले एकअर्कामाथि आक्रमणको तीव्रता बढाउँदा मध्यपूर्वमा तनाव चरम अवस्थामा पुगेको छ।

अमेरिकी सेनाले सोमबार राति इरानका रणनीतिक सैन्य संरचना र पूर्वाधारमा व्यापक हवाई आक्रमण गरेको छ भने इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाउँदै पलटवारलाई निरन्तरता दिएको जनाएको छ।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार पछिल्लो हवाई कारबाहीमा इरानका कमाण्ड सेन्टर, वायु प्रतिरक्षा प्रणाली, मिसाइल तथा ड्रोन प्रक्षेपण स्थल, सञ्चार नेटवर्क र समुद्री सैन्य सम्पत्तिलाई लक्षित गरिएको थियो।

खुजेस्तान, बुशहर, होर्मोजगान, तबरीज, चाबहार र बन्दर इमामलगायतका रणनीतिक क्षेत्रमा पनि बमबारी गरिएको अमेरिकी पक्षको दाबी छ।

तबरीज मिसाइल केन्द्रमा आगलागी

अमेरिकी हवाई हमलापछि उत्तर–पश्चिमी इरानस्थित तबरीज मिसाइल फिल्डमा ठूलो आगलागी भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को एयरोस्पेस फोर्सद्वारा सञ्चालित उक्त मिसाइल केन्द्रमा आक्रमणपछि भीषण आगो लागेको बताइएको छ।

ट्रम्पको दाबी : ‘इरानको आणविक कार्यक्रम समाप्त पार्ने अभियान’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कारबाहीको उद्देश्य इरानको सम्भावित आणविक हतियार कार्यक्रमलाई पूर्ण रूपमा निष्क्रिय बनाउनु रहेको बताएका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि इरानले होर्मुज जलमार्गलाई विश्वव्यापी दबाबको माध्यम बनाएको आरोप लगाउँदै यसको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय सहयोग गर्न आह्वान गरेका छन्।

अमेरिकी सैनिकको मृत्यु

सेन्टकमका अनुसार उत्तरी इराकमा खसालिएको एउटा विस्फोट नभएको इरानी ड्रोन निष्क्रिय पार्ने क्रममा एक अमेरिकी सैनिकको मृत्यु भएको छ भने अर्का एक सैनिक घाइते भएका छन्।

यससँगै युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १७ पुगेको छ।

इरानको पलटवार तीव्र

आईआरजीसीले जोर्डन, कुवेत र ओमानमा रहेका अमेरिकी सैन्य अखडामाथि ड्रोन तथा मिसाइल आक्रमण गरेको दाबी गर्दै आगामी दिनमा पनि कारबाही जारी रहने चेतावनी दिएको छ।

इरानले कुवेतस्थित अली अल–सलेम एयर बेसमा गरिएको ड्रोन आक्रमणबाट राडार प्रणाली तथा अमेरिकी एमक्यू–९ ड्रोन राखिएको ह्याङ्गर ध्वस्त भएको जनाएको छ।

यसैबीच कुवेतका विद्युत् उत्पादन तथा पानी प्रशोधन केन्द्रमा लगातार दोस्रो दिन पनि आक्रमण भएको छ।

आगलागीका कारण विद्युत् उत्पादनमा अवरोध आएको र क्षति नियन्त्रणको प्रयास जारी रहेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।

बहराइनमा सुरक्षा सतर्कता

इरानी आक्रमणको सम्भावनापछि बहराइनमा एयर रेड सायरन बजाइएको छ।

राजधानी मनामास्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सुरक्षा अलर्ट जारी गरेको छ।

आणविक केन्द्रमा आक्रमण भएको इरानको आरोप

इरानको आणविक ऊर्जा सङ्गठनले खुजेस्तान प्रान्तमा निर्माणाधीन डारखोविन आणविक ऊर्जा केन्द्रलाई पनि अमेरिकी सेनाले निशाना बनाएको आरोप लगाएको छ।

यसबारे अमेरिकाले भने कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

ऊर्जा संकट र आर्थिक असर बढ्दै

लगातारको युद्ध र अत्यधिक गर्मीका कारण इरानमा विद्युत् संकट झन् गहिरिएको छ।

तेहरानसहित विभिन्न सहरमा दैनिक लोडसेडिङ हुँदा उद्योग, व्यापार, शिक्षा र जनजीवन प्रभावित भएको छ।

उता, इराकले होर्मुज जलडमरूमध्यमा रहेको निर्भरता घटाउन बसरादेखि टर्की र सिरियासम्म नयाँ तेल पाइपलाइन निर्माण प्रक्रिया अघि बढाएको जनाएको छ।

युद्धसँगै कूटनीतिक दबाब पनि बढ्दै

पूर्व अमेरिकी रक्षा अधिकारी माइकल मुलरयका अनुसार अमेरिका र इरान दुवैले सैन्य दबाबमार्फत एकअर्कालाई वार्ताको टेबलमा ल्याउने रणनीति अपनाइरहेका छन्।

उनका अनुसार अमेरिकाले इरानको आर्थिक तथा सैन्य क्षमता कमजोर पार्ने लक्ष्य राखेको छ भने इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य तथा रणनीतिक हितमा आक्रमण गरेर आफ्नो प्रतिरोध क्षमता प्रदर्शन गरिरहेको छ।

Untitled
Untitled
Untitled