२०८३ साउन ५ मंगलवार | Tuesday, Jul 21 2026

बाढी–पहिरोको असर: बीपी, अरनिकोसहित प्रमुख राजमार्गमा यात्रा प्रभावित

Untitled
Untitled
Untitled

काठमाण्डू, अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न मुख्य राजमार्गहरूमा यातायात सेवा प्रभावित बनेको छ।

नेपाल प्रहरीले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण सडकखण्डमा पूर्ण तथा आंशिक अवरोध कायम रहेको जानकारी दिएको छ।

सबैभन्दा बढी असर बागमती प्रदेशका राजमार्गमा परेको छ। बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा दैनिक बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन रोकिएको छ।

त्यस्तै, सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत जिरोकिलो–कोदारी सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ भने कान्ति लोकपथमा पनि रातिको आवागमन निषेध गरिएको छ।

रसुवाको पासाङ ल्हामु राजमार्ग भने पहिरो पन्छाउने कार्यसँगै एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

कोशी प्रदेशमा इलामको मेची राजमार्ग ९राजदुवाली खण्ड० पहिरोका कारण पूर्ण रूपमा बन्द छ।

साथै, मध्यपहाडी लोकमार्गको खोटाङ–माम्खा खण्ड पनि पहिरोले अवरुद्ध भएको छ।

भोजपुरको बोखिम क्षेत्रमा बाढीको असर कायम रहेकाले सवारी साधन एकतर्फी मात्र सञ्चालन भइरहेका छन्।

गण्डकी प्रदेशमा कालीगण्डकी करिडोरको बागलुङ–बेलबगर सडकखण्ड पहिरोले पूर्ण रूपमा बन्द भएको छ।

उता सुदूरपश्चिम प्रदेशमा दार्चुलास्थित महाकाली राजमार्गको पनेबाँज र ऐरिछिना क्षेत्र पहिरोका कारण अवरुद्ध हुँदा यातायात सेवा ठप्प बनेको छ।

मौसमविद्ले आगामी दिनमा पनि वर्षा जारी रहने पूर्वानुमान गरेकाले नेपाल प्रहरीले अत्यावश्यक बाहेकका यात्रा सकेसम्म टार्न, यात्रा गर्नै परे सडकको पछिल्लो अवस्था बुझेर मात्रै अघि बढ्न तथा बाढी, पहिरो र नदी किनारका जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

 

Untitled
Untitled
Untitled