काठमाण्डू, हिन्दू धर्मावलम्बीका लागि विशेष महत्व बोकेको साउन महिनाको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका प्रमुख शिवालयमा श्रद्धालु भक्तजनको उल्लेखनीय भीड लागेको छ।
साउने झरीसमेत बेवास्ता गर्दै हजारौं भक्तजन भगवान् शिवको पूजा–आराधना, जलाभिषेक र दर्शनका लागि बिहानैदेखि मन्दिर पुगेका छन्।
पशुपति क्षेत्र विकास कोषले श्रद्धालुको चापलाई मध्यनजर गर्दै बिहान ३ बजेदेखि नै मन्दिरका चारैवटा ढोका खुला गरेको छ।
कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार बिहानैदेखि दर्शनार्थीको आगमन तीव्र भएपनि व्यवस्थापन प्रभावकारी बनाइएकाले अत्यधिक लाम लाग्ने अवस्था नरहेको बताइएको छ।
साउन महिनाका सोमबार भगवान् शिवको विशेष आराधनाको दिन मानिने भएकाले हरेक वर्ष पशुपतिनाथमा लाखौं श्रद्धालु पुग्ने परम्परा छ।
यस वर्ष पनि ठूलो संख्यामा भक्तजन आउने अनुमानका साथ दर्शन, सुरक्षा, स्वास्थ्य तथा पूजा व्यवस्थापनलाई थप व्यवस्थित बनाइएको कोषले जनाएको छ।
दर्शनार्थीलाई सहज सेवा उपलब्ध गराउन मन्दिर प्रवेशका लागि चारवटा छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ।
साथै, आकस्मिक स्वास्थ्य समस्या समाधानका लागि प्राथमिक उपचार केन्द्र र आवश्यक स्वास्थ्य सेवा पनि तयारी अवस्थामा राखिएको छ।
सुरक्षा व्यवस्थालाई मजबुत बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी, मन्दिर पहरा गण तथा विभिन्न धार्मिक एवं सामाजिक संघ–संस्थाका स्वयंसेवक परिचालन गरिएको छ।
उनीहरूले दर्शनार्थीको आवतजावत, सुरक्षा र भीड व्यवस्थापनमा सहजीकरण गरिरहेका छन्।
कोषका सदस्य सचिव श्रेष्ठले जनशक्ति अभाव र पदाधिकारी नियुक्तिमा भएको ढिलाइका कारण केही चुनौती रहेपनि उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै दर्शन व्यवस्थापनलाई प्रभावकारी बनाइएको जानकारी दिनुभयो।
कोषका अनुसार पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३ बजेदेखि साँझ आरती सम्पन्न भएपछि राति ८ बजेसम्म खुला रहनेछन्।
विशेष पूजा बिहान ८ः३० बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ।
पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित मक्खन महादेवलगायतका शिवालयमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
देशभरका शिव मन्दिरमा श्रद्धालुले जलाभिषेक, रुद्राभिषेक, पूजा–आराधना र दर्शन गर्दै साउनको पहिलो सोमबारलाई श्रद्धापूर्वक मनाइरहेका छन्।


































