काठमाडौं, मनसुनी प्रणाली सक्रिय रहेकाले आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको क्रम जारी रहने भएको छ।
मौसम पूर्वानुमान महाशाखाले देशभर सामान्यदेखि पूर्ण बदली रहने र विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ भने पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेश प्रदेशका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।
विशेषगरी कोशी र सुदूरपश्चिमका पहाडी तथा तराईका केही स्थान, साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो र आकस्मिक बाढीको जोखिमप्रति सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
रातिको समयमा पनि मौसममा खासै सुधार नआउने अनुमान गरिएको छ।
देशभर सामान्य बदली रहने, हिमाली क्षेत्रमा वर्षा तथा हिमपात हुने र मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ।
ती प्रदेशका केही स्थानमा राति पनि भारी वर्षा हुन सक्ने मौसमविद्को अनुमान छ।
काठमाडौं उपत्यकामा दिउँसो र राति पनि वर्षाको सम्भावना
काठमाडौं उपत्यकामा पछिल्ला केही दिनदेखि निरन्तर वर्षा भइरहेको छ। सोमबार बिहान पनि खुमलटारलगायत विभिन्न क्षेत्रमा हल्का वर्षा भएको मौसमविद् बिनु महर्जनले जानकारी दिएकी छन्।
उनका अनुसार बिहानको वर्षा केही समय रोकिए पनि अपराह्नतिर पुनः हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। रातिको समयमा पनि उपत्यकामा वर्षाको सम्भावना कायम रहने बताइएको छ।
वर्षाको मापन कसरी गरिन्छ ?
मौसमविद्का अनुसार २४ घण्टाभित्र परेको वर्षाको मात्राका आधारमा वर्षालाई विभिन्न श्रेणीमा वर्गीकरण गरिन्छ।
- १० मिलिमिटरभन्दा कम : हल्का वर्षा
- १० देखि ५० मिलिमिटर : मध्यम वर्षा
- ५० देखि १०० मिलिमिटर : भारी वर्षा
- १०० देखि २०० मिलिमिटर : धेरै भारी वर्षा
- २०० मिलिमिटरभन्दा बढी : अति भारी वर्षा
‘एक–दुई स्थान’ र ‘धेरै स्थान’ भन्नाले के बुझिन्छ?
मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावलीले वर्षा हुने क्षेत्रफलको अनुमान जनाउँछ।
- एक/दुई स्थान : १० प्रतिशतभन्दा कम भू-भाग
- थोरै स्थान : १०–३० प्रतिशत भू-भाग
- केही स्थान : ३०–५० प्रतिशत भू-भाग
- धेरै स्थान : ५०–८० प्रतिशत भूभाग
- अधिकांश स्थान : ८० प्रतिशतभन्दा बढी भू-भाग
मौसमविद्ले मनसुन सक्रिय रहेकाले नदी–खोला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा शहरी डुबान हुन सक्ने स्थानमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।




































