२०८३ असार २९ सोमवार | Monday, Jul 13 2026

इरान–अमेरिका तनाव थप चर्कियो, होर्मुज जलडमरूमा जहाज आक्रमणपछि अमेरिकी हवाई प्रहार, बदला लिने इरानी चेतावनी

Untitled
Untitled
Untitled

एजेन्सी, मध्यपूर्वमा इरान र अमेरिकाबीचको सैन्य तनाव थप गहिरिएको छ।

इरानले होर्मुज जलडमरू अर्को सूचना नभएसम्मका लागि बन्द गरेको घोषणा गरेलगत्तै त्यहाँबाट आवतजावत गरिरहेको एक व्यावसायिक जहाजमाथि आक्रमण भएको छ।

उक्त घटनापछि अमेरिकाले इरानविरुद्ध नयाँ चरणको हवाई आक्रमण गरेको जनाएको छ।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार साइप्रसको झण्डा बोकेको जहाजमाथि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले आक्रमण गरेपछि यस सातामै तेस्रोपटक सैन्य कारबाही गरिएको हो।

सेन्टकमका अनुसार आक्रमणबाट जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको छ भने चालकदलका एक सदस्य अझै बेपत्ता छन्।

क्षतिका कारण जहाजले आफ्नो यात्रा जारी राख्न नसक्ने अवस्था सिर्जना भएको अमेरिकी पक्षको दाबी छ।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सामाजिक सञ्जालमार्फत इरानले गलत निर्णय गरेको टिप्पणी गर्दै त्यसको परिणाम अहिले भोगिरहेको बताएका छन्।

यता इरानले भने जहाजले आफूले तोकेको सुरक्षित समुद्री मार्ग छाडेको, निगरानी प्रणाली बन्द गरेको तथा पटक–पटकको चेतावनी अटेर गरेपछि चेतावनीस्वरूप नौसैनिक मिसाइल प्रहार गरिएको जनाएको छ।

इरानी पक्षले जहाजलाई रोक्न आवश्यक कदम चालिएको दाबी गरेको छ।

यसअघि इरानले होर्मुज जलडमरू अर्को सूचना जारी नभएसम्म बन्द रहने घोषणा गरेको थियो।

साथै, जलडमरू खुलाउन वा आफ्नो निर्णयविरुद्ध कुनै सैन्य हस्तक्षेप भए त्यसको कडा प्रतिकार गरिने र क्षेत्रका अमेरिकी सैन्य अड्डासमेत निशानामा पर्न सक्ने चेतावनी दिएको छ।

यस घटनाअघि पनि ओमान नजिक अमेरिकाले सिफारिस गरेको समुद्री मार्ग प्रयोग गरिरहेका तीनवटा व्यावसायिक तेल ट्यांकरमाथि आक्रमण भएको थियो।

त्यसपछि अमेरिकाले इरानका विभिन्न सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको थियो।

इरानी अधिकारीहरूका अनुसार ती आक्रमणमा १७ जनाको मृत्यु तथा ११५ जना घाइते भएका थिए।

अमेरिकी कारबाहीको प्रत्युत्तरमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी साझेदार मुलुकका केही सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको थियो।

त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम प्रभावहीन बनेको घोषणा गरेका थिए।

यद्यपि दुवै पक्षबीच कूटनीतिक सम्पर्क पूर्ण रूपमा टुटेको छैन।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार इरानले मध्यस्थकर्तामार्फत ट्यांकरमाथिको आक्रमण नियोजित नभई नियन्त्रणबाहिर गएको एक समूहको कारण भएको जानकारी अमेरिकी अधिकारीहरूलाई दिएको छ।

अमेरिकाले इरानसँग होर्मुज जलडमरू अन्तर्राष्ट्रिय जहाज आवागमनका लागि खुला रहेको सार्वजनिक रूपमा घोषणा गर्न तथा व्यावसायिक जहाजमाथि थप आक्रमण नगर्ने प्रतिबद्धता जनाउन आग्रह गरेको बताइएको छ।

यसैबीच इरानका नयाँ सर्वोच्च नेता अयातोल्लाह मोज्तबा खामेनीले पदभार सम्हालेपछि पहिलो सार्वजनिक सन्देश जारी गर्दै आफ्ना पिता तथा पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्याको बदला लिने अडान दोहोर्याएका छन्।

राज्य टेलिभिजनमार्फत प्रसारित सम्बोधनमा उनले शहीदहरूको रगतको प्रतिशोध राष्ट्रको संकल्प भएको उल्लेख गर्दै यो अभियान कुनै एक व्यक्तिमा निर्भर नरहेको बताएका छन्।

पछिल्ला दिनहरूमा इरानमा आयोजित अन्त्येष्टि कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आक्रोशपूर्ण प्रदर्शनसमेत भएका छन्।

ट्रम्पले पनि आफूलाई लक्षित कुनै पनि आक्रमण भए अमेरिकाले इरानमाथि कठोर जवाफ दिने चेतावनी दिएका छन्।

यसैबीच अमेरिकी सञ्चारमाध्यमहरूले इजरायलले ट्रम्पमाथि सम्भावित आक्रमणसम्बन्धी गुप्तचर सूचना अमेरिकालाई उपलब्ध गराएको दाबी गरेका छन्।

यद्यपि ट्रम्पले त्यस्ता विवरणबारे थप टिप्पणी गर्न अस्वीकार गर्दै आफू लामो समयदेखि इरानको सम्भावित निशानामा रहेको बताएका छन्।

मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच विश्वव्यापी ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय समुद्री व्यापार तथा क्षेत्रीय सुरक्षामाथि समेत यसको प्रभाव पर्ने चिन्ता बढ्दै गएको छ।

Untitled
Untitled
Untitled