२०८३ असार २६ शुक्रवार | Friday, Jul 10 2026

युद्धविरामको दाबीपछि फेरि अमेरिकी हमला, इरान–अमेरिका तनावले मध्यपूर्व फेरि अशान्त

Untitled
Untitled
Untitled

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि अन्तरिम युद्धविरामको सहमति भएको दाबी गरेको केही घण्टामै अमेरिकी सेनाले इरानका विभिन्न रणनीतिक क्षेत्रलाई लक्षित गर्दै नयाँ चरणको हवाई आक्रमण गरेको बताइएको छ।

पछिल्लो घटनाक्रमले युद्ध अन्त्यको आशा क्षीण बनाएको मात्र होइन, मध्यपूर्वको सुरक्षा अवस्था फेरि तनावपूर्ण मोडमा पुगेको छ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार बुधबार राति स्ट्रेट अफ हर्मुज नजिकका बन्दार अब्बास र सिरिक बन्दरगाह क्षेत्रका साथै दक्षिण–पश्चिमी बुशेहर प्रान्तमा शक्तिशाली विस्फोट भएका छन्।

बुशेहर इरानको प्रमुख आणविक ऊर्जा केन्द्र रहेको क्षेत्र भएकाले त्यहाँ भएको आक्रमणलाई निकै संवेदनशील घटनाका रूपमा हेरिएको छ।

यसैबीच, चाबाहार क्षेत्रमा भएको भनिएको विस्फोटको तस्बिर सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यो कारबाही इरानले व्यापारिक जहाजहरूमाथि गरेको आक्रमणको प्रतिशोध भएको बताएका छन्।

उनले इरानले यस्ता गतिविधि दोहोर्याए अझ कडा सैन्य जवाफ दिइने चेतावनीसमेत दिएका छन्।

अमेरिकी सेन्ट्रल कमान्ड ९सेन्टकम० ले पनि पछिल्लो सैन्य अभियानको पुष्टि गरेको छ।

सेन्टकमका अनुसार राष्ट्रपति ट्रम्पको निर्देशनमा स्ट्रेट अफ हर्मुजमा अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षामा खतरा पुर्‍याउन सक्ने इरानी सैन्य क्षमतामाथि लक्षित आक्रमण गरिएको हो।

सेन्टकमले जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय व्यापारिक जहाज र नागरिक चालक दलमाथि हालै भएका इरानी आक्रमणलाई अन्तर्राष्ट्रिय समुद्री सुरक्षाविरुद्धको कार्य भन्दै त्यसको जवाफस्वरूप सैन्य कारबाही गरिएको उल्लेख गरिएको छ।

अमेरिकी समाचार संस्था रोयटर्सले एक उच्च अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बुधबारको आक्रमण अघिल्लो दिनको कारबाहीभन्दा अझ व्यापक र प्रभावकारी हुने उद्देश्यसहित सञ्चालन गरिएको जनाएको छ।

यता इरानी सरकारी टेलिभिजनले स्ट्रेट अफ हर्मुज क्षेत्रमा पर्ने अबु मुसा टापुमा समेत विस्फोटको आवाज सुनिएको जनाएको छ।

अबु मुसा संयुक्त अरब इमिरेट्सले पनि दाबी गर्दै आएको विवादित टापु हो, जहाँ इरानको महत्वपूर्ण सैन्य उपस्थिति रहेको मानिन्छ।

यद्यपि, इरानको मेहर समाचार एजेन्सीले बुशेहर आणविक ऊर्जा केन्द्र सुरक्षित रहेको जनाएको छ।

आक्रमणका बाबजुद आणविक केन्द्रमा कुनै क्षति नपुगेको र त्यहाँका गतिविधि सामान्य रूपमा सञ्चालन भइरहेको इरानी अधिकारीहरूको भनाइ छ।

पछिल्लो सैन्य कारबाहीले अमेरिकाभित्र पनि राजनीतिक बहस शुरु भएको छ।

अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले ट्रम्प प्रशासनको निर्णयको कडा आलोचना गर्दै इरानसँगको युद्धलाई पुनः चर्काउनु गैरजिम्मेवार कदम भएको बताएका छन्।

सामाजिक सञ्जाल एक्समार्फत उनले यस्तो युद्धले अमेरिकाको सुरक्षा बढाउनेभन्दा पनि थप मानवीय क्षति, आर्थिक भार र क्षेत्रीय अस्थिरता निम्त्याउने टिप्पणी गरेका छन्।

उनले केही समयअघि मात्रै युद्धविरामको घोषणा गर्ने र त्यसलगत्तै फेरि सैन्य कारबाही सुरु गर्नु विरोधाभासपूर्ण रहेको बताएका छन्।

यसअघि ओमानको तट नजिक अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूमाथि ड्रोन र मिसाइल आक्रमण भएको भन्दै अमेरिकाले इरानलाई जिम्मेवार ठहर गरेको थियो।

त्यसको प्रतिक्रियास्वरूप अमेरिकाले मंगलबारदेखि इरानका सैन्य अड्डा, बन्दरगाह र रणनीतिक पूर्वाधारलाई लक्षित गर्दै हवाई आक्रमण सुरु गरेको जनाएको छ।

अंकारामा सम्पन्न नाटो शिखर सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले आवश्यक परे इरानमाथि थप सैन्य कारबाही गर्न अमेरिका तयार रहेको बताएका थिए।

उनले अभियान दीर्घकालीन युद्धमा रूपान्तरण नहुने दाबी गरेपनि आवश्यकता परे निर्णायक कदम चाल्न पछि नपर्ने संकेत दिएका थिए।

यता इरानले भने युद्धविरामसम्बन्धी अन्तरिम सहमतिअनुसार स्ट्रेट अफ हर्मुज हुँदै हुने समुद्री आवागमन व्यवस्थापन गर्ने अधिकार आफूलाई रहेको दाबी गर्दै अमेरिकी कारबाहीलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको जनाएको छ।

इरानी संसदका सभामुख तथा वार्ता टोलीका प्रमुख मोहम्मद बगेर गालिबाफले धम्की र सैन्य दबाबले इरानलाई आफ्नो अडानबाट पछि हटाउन नसक्ने बताएका छन्।

उनले राष्ट्रिय सार्वभौमिकताको रक्षामा इरान कुनै पनि दबाबअघि नझुक्ने स्पष्ट पारेका छन्।

अमेरिका र इरानबीच पुनः चर्किएको सैन्य तनावले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ।

विशेषगरी विश्वको ठूलो परिमाणमा तेल ढुवानी हुने स्ट्रेट अफ हर्मुज क्षेत्रमा अस्थिरता बढेपछि अन्तर्राष्ट्रिय ऊर्जा बजार, विश्व व्यापार र कूटनीतिक सम्बन्धमा समेत यसको प्रत्यक्ष प्रभाव पर्ने चिन्ता बढेको छ।

Untitled
Untitled
Untitled