२०८३ असार २६ शुक्रवार | Friday, Jul 10 2026

निरन्तर वर्षाले इलामको राजदुवाली सडक अवरुद्ध, वैकल्पिक मार्गसमेत जोखिममा

Untitled
Untitled
Untitled

इलाम, अविरल वर्षापछि मेची राजमार्ग अन्तर्गत इलामको माई खोलास्थित राजदुवाली सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

निरन्तरको वर्षासँगै पहिरो खस्नु, सडक चर्किनु तथा विभिन्न स्थानमा सडक भासिन थालेपछि यस मार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो।

सडक अवरुद्ध भएपछि इलाम हुँदै झापा तथा पूर्वी पहाडी जिल्लातर्फ आवतजावत गर्ने यात्रु र मालवाहक सवारी साधनको आवागमन ठप्प भएको छ।

अहिले सडकको अवस्था अत्यन्त जोखिमपूर्ण रहेकाले साना तथा ठूला कुनै पनि सवारी साधन सञ्चालन हुन नसकेको सम्बन्धित निकायले जनाएको छ।

मुख्य सडक बन्द भएपछि वैकल्पिक रूपमा प्रयोग हुँदै आएको सिमलगोला–तिल्केनी सडक पनि वर्षाका कारण हिलोमय र चिप्लो बनेको छ।

पूर्वेली जीप तथा ट्याक्सी यातायात प्रालिका अध्यक्ष गृष्म सुब्बाका अनुसार उक्त सडकमा सीमित रूपमा चारपाङ्ग्रे सवारी सञ्चालन भइरहे पनि अत्यधिक जोखिमका कारण यात्रु तथा चालक दुवै त्रसित बनेका छन्।

यसैबीच, इलाम–झापा जोड्ने केचना–कञ्चनजङ्घा द्रूतमार्ग अन्तर्गत पुवा खोलामा निर्माण गरिएको डाइभर्सनमाथिबाट बाढी बगिरहेकाले सो मार्गमा समेत यातायात सेवा प्रभावित भएको छ।

खोलामा पानीको सतह बढेसँगै सवारी साधन सञ्चालन गर्न कठिन भएको स्थानीयले बताएका छन्।

सडक डिभिजन कार्यालय इलामका अनुसार पुवा खोला र जोगमाइ खोलामा जडान गर्ने तयारी गरिएको बेलीब्रिज भारतबाट हालसम्म प्राप्त नभएकाले स्थायी समाधानको काम अघि बढ्न सकेको छैन।

आवश्यक पूर्वाधार समयमै निर्माण हुन नसक्दा प्रत्येक वर्ष वर्षायाममा यही समस्या दोहोरिने गरेको कार्यालयको भनाइ छ।

वर्षौंदेखि सडक अवरुद्धको समस्या झेलिरहेका स्थानीयवासीले राजदुवाली सडक खण्डको दीर्घकालीन समाधान तथा इलाम सदरमुकाम जोड्ने सुरक्षित र भरपर्दो वैकल्पिक सडक निर्माणको माग पुनः दोहोर्याएका छन्।

उनीहरूका अनुसार सडक बन्द हुँदा दैनिक जनजीवन, व्यापार–व्यवसाय तथा अत्यावश्यक वस्तुको आपूर्तिमा प्रत्यक्ष असर पर्ने गरेको छ।

इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलले भरपर्दो वैकल्पिक सडकको अभावले बजारमा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत समस्या देखिन थालेको उल्लेख गर्दै तत्काल दीर्घकालीन समाधानका लागि आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेका छन् ।

Untitled
Untitled
Untitled