२०८३ असार २६ शुक्रवार | Friday, Jul 10 2026

पूर्वी नेपालमा किन परेन पानी ? मौसमविद्ले बताए वर्षा नहुनुको यस्तो कारण

Untitled
Untitled
Untitled

काठमाण्डू, देशभर मनसुन सक्रिय रहेपनि वर्षाको वितरण भने समान देखिएको छैन।

पश्चिम, मध्य तथा पहाडी क्षेत्रमा लगातार वर्षा भइरहँदा पूर्वी नेपालका केही तराई र भित्री मधेशका भूभागमा अपेक्षाअनुसार पानी नपरेपछि खेतीपातीदेखि दैनिक जनजीवनसम्म असर पर्न थालेको छ।

आकाश दिनभर बादलले ढाकिए पनि पर्याप्त वर्षा नभएपछि विशेषगरी धान रोपाइँको तयारीमा रहेका किसान चिन्तित बनेका छन्।

मौसमविद्हरूका अनुसार मनसुन कमजोर भएका कारण नभई बादललाई माथि उठाएर वर्षा गराउने प्राकृतिक प्रणाली सक्रिय हुन नसक्दा यस्तो अवस्था देखिएको हो।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् विनोद पोखरेलका अनुसार पूर्वी नेपालमा बादलको अभाव छैन ।

तर, वर्षा गराउने अनुकूल भौगोलिक र वायुमण्डलीय अवस्था नबन्दा बादलबाट पर्याप्त पानी खस्न सकेको छैन।

उनले पहाडी भू-भागले मनसुनी हावासँगै आएका बादललाई माथितर्फ उकास्ने काम गर्ने बताए। बादल माथि पुगेपछि तापक्रम घट्ने, जलवाष्प संघनन हुने र त्यसपछि वर्षा हुने प्रक्रिया सुरु हुन्छ।

तर, तराईका समथर भूभागमा यस्तो लिफ्टिङ मेकानिजमु कमजोर हुँदा बादल लामो समय आकाशमा रहे पनि पर्याप्त वर्षा नहुने अवस्था सिर्जना भएको उनको भनाइ छ।

मौसमविद्हरूका अनुसार अहिले देखिएको अवस्था मनसुनको सामान्य विशेषताभित्रै पर्ने भएपनि वर्षाको असमान वितरणका कारण केही क्षेत्रमा अत्यधिक वर्षा र केही क्षेत्रमा न्यून वर्षा हुने क्रम देखिएको छ।

त्यसैले आज पनि देशभर वर्षाको सम्भावना रहे तापनि सबै जिल्लाले समान मात्रामा पानी पाउने अवस्था नरहेको विभागको भनाइ छ।

यसबीच, देशका अन्य धेरै जिल्लामा भने मनसुनी वर्षाले प्रभाव देखाउन थालेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गएराति र आज बिहान कास्की, म्याग्दी, अर्घाखाँची, सिन्धुपाल्चोक, दोलखा, सङ्खुवासभा, नवलपरासी, चितवन, पाल्पा र रूपन्देहीमा उल्लेखनीय वर्षा भएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा पनि मध्यमदेखि भारी वर्षा मापन गरिएको छ।

लगातारको वर्षासँगै नदी तथा खोलाको बहाव बढ्न थालेको छ भने पहाडी जिल्लाहरूमा पहिरो, सडक अवरुद्ध हुने तथा तराईका केही क्षेत्रमा डुबानको जोखिम बढेको सम्बन्धित निकायले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।

पहाडी र हिमाली भू-भागका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।

विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

त्यसैगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका साथै मधेश र कोशी प्रदेशका केही तराई क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा हुरीबतास चल्न सक्ने भएकाले कृषि, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने मौसमविद्हरूले बताएका छन्।

रातिको समयमा वर्षाको गतिविधि अझ बढ्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार राति देशका अधिकांश क्षेत्रमा बदली रहनेछ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्छ।

मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रका केही स्थान तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा धेरै भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, गेग्र्यान बहाव तथा नदी किनारका बस्तीमा जोखिम बढ्न सक्ने चेतावनी विभागले दिएको छ।

जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिक, यात्रु तथा किसानलाई आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन आग्रह गरिएको छ।

हाल मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी र पश्चिमी भू-भागतर्फ औसत अवस्थाकै आसपास रहेकाले आगामी केही दिनसम्म देशका अधिकांश क्षेत्रमा वर्षाको गतिविधि निरन्तर रहने मौसमविद्हरूले बताएका छन्।

Untitled
Untitled
Untitled