२०८३ असार २६ शुक्रवार | Friday, Jul 10 2026

राहदानी सेवा दुई दिन प्रभावित हुने, नयाँ प्रणाली लागू गर्न विभागको तयारी

Untitled
Untitled
Untitled

काठमाण्डू, राहदानी विभागले आफ्नो सेवा प्रणालीलाई थप आधुनिक र प्रभावकारी बनाउन नयाँ डिजिटल प्रणाली लागू गर्ने तयारी गरेको छ।

यसका लागि हाल सञ्चालनमा रहेको प्रणालीलाई नयाँ प्रणालीमा स्थानान्तरण (माइग्रेसन) गर्नुपर्ने भएकाले दुई दिन राहदानीसम्बन्धी अधिकांश सेवा स्थगित हुने भएको छ।

विभागले बुधबार जारी गरेको सूचनाअनुसार असार २५ र २६ गते (जुलाई ९ र १०, २०२६) राहदानीसम्बन्धी नयाँ आवेदन, नवीकरण, विवरण संशोधनलगायतका नियमित सेवा सञ्चालन हुने छैनन्।

प्रणाली परिवर्तनको प्राविधिक कार्य सम्पन्न गर्न यी दुई दिन सेवा अस्थायी रूपमा बन्द गर्न लागिएको विभागले जनाएको छ।

यसअघि नै असार १९ गते विभागले सार्वजनिक सूचना जारी गर्दै प्रणाली स्तरोन्नतिका कारण दुई दिन सेवा अवरुद्ध हुने जानकारी गराएको थियो।

विभागका अनुसार नयाँ प्रणाली सञ्चालनमा आएपछि राहदानी सेवा अझ छिटो, सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

यद्यपि, सेवा बन्दको अवधिमा पनि तयार भइसकेका राहदानी वितरणको कार्य भने नियमित रूपमा जारी रहनेछ।

मोबाइलमा राहदानी सङ्कलनका लागि एसएमएस सूचना प्राप्त गरिसकेका सेवाग्राहीले विभागमा उपस्थित भएर आफ्नो राहदानी बुझ्न सक्ने व्यवस्था गरिएको विभागले स्पष्ट पारेको छ।

विभागले अत्यावश्यक अवस्थामा राहदानी सेवा लिनुपर्ने सेवाग्राहीलाई सेवा बन्द हुने मिति ध्यानमा राखी आफ्नो कार्यतालिका व्यवस्थापन गर्न आग्रह गरेको छ।

साथै, सेवा पुनः सञ्चालन भएपछि सबै राहदानीसम्बन्धी सेवा नियमित रूपमा उपलब्ध हुने पनि विभागले जनाएको छ।

Untitled
Untitled
Untitled