२०८३ असार २८ आइतवार | Sunday, Jul 12 2026

चीनको जुत्ता कारखानामा विनाशकारी आगलागी, २८ जनाको मृत्यु, धेरै अझै सम्पर्कविहीन

Untitled
Untitled
Untitled

एजेन्सी, चीनको पूर्वी फुजियान प्रान्तस्थित एक जुत्ता उत्पादन कारखानामा बिहीबार भएको भीषण आगलागीमा कम्तीमा २८ जनाको ज्यान गएको छ।

ठूलो मानवीय क्षति भएको यस घटनापछि व्यापक उद्धार तथा खोजी अभियान जारी राखिएको छ भने केही व्यक्ति अझै सम्पर्कविहीन रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन्।

स्थानीय समयअनुसार दिउँसो करिब १२ बजे फुजियान प्रान्तको जिनजियाङ सहरमा रहेको हुइटेङ जुत्ता कारखानामा अचानक आगलागी भएको थियो।

कारखानाभित्र रहेका ज्वलनशील सामग्रीका कारण आगो केही मिनेटमै तीव्र रूपमा फैलिएको बताइएको छ।

त्यसबेला सयौं कामदार उत्पादन कार्यमा व्यस्त रहेका कारण ठूलो मानवीय क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार साँझसम्म २८ जनाको मृत्यु पुष्टि भएको छ भने केही कामदार अझै बेपत्ता रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ।

चिनियाँ राष्ट्रिय टेलिभिजन सीसीटीभीले प्रसारण गरेका दृश्यमा कारखानाबाट बाक्लो कालो धुवाँ आकाशतर्फ फैलिएको, आगोले भवनको ठूलो हिस्सा जलेर ध्वस्त भएको तथा दर्जनौं दमकलकर्मी आगो नियन्त्रणमा खटिएको देखिएको थियो।

प्रत्यक्षदर्शीहरूका अनुसार आगो तल्लो तलाबाट सुरु भएपछि धुवाँले भवनभर फैलिएको थियो।

ज्यान जोगाउन धेरै कामदारहरू छत र झ्यालमा पुगेका थिए भने केहीलाई उद्धार गर्न सफल भए पनि अन्य धेरै व्यक्ति आगो र धुवाँबीच फसेका थिए।

चीनको विपद् व्यवस्थापन मन्त्रालयका अनुसार घटनास्थलमा १८३ जना उद्धारकर्मी, ३५ वटा दमकल तथा उद्धार सवारीसाधन परिचालन गरिएको थियो।

आगो नियन्त्रणमा आइसकेपछि पनि उद्धार टोलीले भवनभित्र फसेकाहरूको खोजी, घाइतेहरूको उद्धार तथा आगो पूर्ण रूपमा निभाउने कार्यलाई निरन्तरता दिएको छ।

फुजियान दमकल विभागका प्रमुख डु झेन्झाउका अनुसार जुत्ता उत्पादनमा प्रयोग हुने टाँस्ने पदार्थ (एड्हेसिभ), रासायनिक सामग्री तथा अन्य ज्वलनशील कच्चा पदार्थका कारण आगो असाध्यै छिटो फैलिएको थियो।

साथै, उत्पादन सामग्रीले भरिएका भर्‍याङ र आपतकालीन निस्कने मार्ग अवरुद्ध भएकाले माथिल्लो तलामा फसेका कामदारसम्म पुग्न उद्धार टोलीलाई निकै कठिनाइ भएको उनले बताएका छन्।

घटनापछि चिनियाँ राष्ट्रपति सी चिनफिङले यसलाई अत्यन्त दुःखद औद्योगिक दुर्घटना भएको उल्लेख गर्दै उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका छन्।

उनले घाइतेहरूको प्रभावकारी उपचार सुनिश्चित गर्न, घटनाको निष्पक्ष अनुसन्धान गर्न तथा लापरवाही गर्ने व्यक्ति वा निकायलाई कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

राष्ट्रपति सीले पछिल्ला समय चीनमा भइरहेका औद्योगिक दुर्घटनाहरूले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै देशभरका उद्योग, कारखाना र उत्पादन प्रतिष्ठानहरूमा सुरक्षा मापदण्ड कडाइका साथ कार्यान्वयन गर्न पनि निर्देशन दिएका छन्।

अधिकारीहरूका अनुसार आगलागीको वास्तविक कारण अझै खुल्न सकेको छैन।

घटनास्थलमा प्राविधिक टोलीले अनुसन्धान शुरु गरिसकेको छ भने सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्य जारी छ।

पछिल्ला वर्षहरूमा चीनमा औद्योगिक क्षेत्रमा भएका आगलागी र विस्फोटका घटनाले सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयनबारे पुनः बहस शुरु गराएको छ।

यस घटनालाई पनि चीनको औद्योगिक सुरक्षा व्यवस्थाका लागि अर्को गम्भीर चेतावनीका रूपमा हेरिएको छ।

Untitled
Untitled
Untitled