२०८३ असार २८ आइतवार | Sunday, Jul 12 2026

मेरिनोको अन्तिम मिनेटको गोलमा बेल्जियम पराजित, स्पेन १६ वर्षपछि विश्वकप सेमिफाइनलमा

Untitled
Untitled
Untitled

एजेन्सी, वैकल्पिक खेलाडी मिकेल मेरिनोले खेलको अन्तिम क्षणमा गरेको निर्णायक गोलको मद्दतमा स्पेन फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबार बिहान अमेरिकाको लस एन्जलस स्टेडियममा सम्पन्न रोमाञ्चक क्वाटरफाइनलमा स्पेनले बेल्जियमलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

दुवै टोलीले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गरेका थिए। बल नियन्त्रणमा स्पेनले पकड जमाए पनि बेल्जियमले तीव्र काउन्टर अट्याकमार्फत दबाब सिर्जना गरेको थियो।

खेलको ३०औँ मिनेटमा फाबियन रुइजले सुन्दर प्रहारमार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। तर, पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा बेल्जियमले उत्कृष्ट पुनरागमन गर्यो।

चार्ल्स डे केटेलेरेले आकर्षक हेडरमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याएपछि पहिलो हाफ बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा दुवै टोलीले लगातार आक्रमण गरे पनि गोलरक्षकहरूको उत्कृष्ट प्रदर्शनका कारण खेल निर्णायक बन्न सकेको थिएन।

स्पेनले केही उत्कृष्ट अवसर गुमाउँदा बेल्जियमले पनि बराबरी गोललाई जितमा बदल्ने प्रयास जारी राख्यो।

खेलको अन्त्यतिर बेल्जियमलाई ठूलो झट्का लाग्यो। नियमित गोलरक्षक थिबाउट कोर्टुवा चोटका कारण मैदानबाट बाहिरिएपछि वैकल्पिक गोलरक्षक सेन्ने लामेन्स मैदान प्रवेश गरेका थिए।

यही परिवर्तन बेल्जियमका लागि महँगो साबित भयो।

खेलको ८८औँ मिनेटमा लामेन्सको गल्तीको फाइदा उठाउँदै मिकेल मेरिनोले बललाई जाली चुमाए र स्पेनलाई २–१ को निर्णायक अग्रता दिलाए।

त्यसपछि बाँकी समयमा बेल्जियमले बराबरी गोलका लागि प्रयास गरेपनि स्पेनिश रक्षापंक्तिले कुनै अवसर दिएन।

मेरिनो यसअघि पनि पोर्चुगलविरुद्धको खेलमा अन्तिम समयमा गोल गर्दै स्पेनलाई जीत दिलाएका थिए।

यसपटक पनि उनले संकटमोचकको भूमिका निभाउँदै टोलीलाई सेमिफाइनल पुर्‍याए। यस जितसँगै स्पेन सन् २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ।

सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा स्पेनले पहिलो पटक विश्व उपाधि जितेको थियो। अब उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यसहित स्पेनले सेमिफाइनलमा फ्रान्सको सामना गर्नेछ।

यता, पराजयसँगै बेल्जियमको विश्वकप यात्रा क्वाटरफाइनलमै समाप्त भएको छ।

पछिल्ला वर्षहरूमा बलियो टोलीका रूपमा चिनिएको बेल्जियमले यसपटक पनि अन्तिम चारमा पुग्ने लक्ष्य पूरा गर्न सकेन।

स्पेनका प्रशिक्षक लुइस दे ला फुएन्टेको नेतृत्वमा टोलीले लगातार ३६ खेलसम्म अपराजित रहने प्रभावशाली कीर्तिमान पनि कायम राखेको छ, जसले स्पेनलाई यस विश्वकपको प्रमुख उपाधि दाबेदारका रूपमा थप मजबुत बनाएको छ।

Untitled
Untitled
Untitled