२०८३ असार २८ आइतवार | Sunday, Jul 12 2026

मनसुन थप सक्रिय, आज पनि देशभर वर्षा, पहाड र तराईका विभिन्न क्षेत्रमा भारी वर्षाको चेतावनी

Untitled
Untitled
Untitled

काठमाण्डू, देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले शनिबार पनि अधिकांश क्षेत्रमा वर्षाको क्रम जारी रहने भएको छ।

जल तथा मौसम विज्ञान विभागले कोशीदेखि सुदूरपश्चिमसम्मका विभिन्न प्रदेशका पहाडी तथा केही तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ।

मनसुनको न्यूनचापीय रेखा (मनसुन ट्रफ) औसत अवस्थाभन्दा केही उत्तरतर्फ सरेकाले वर्षा गराउने प्रणाली थप सक्रिय बनेको छ।

यही प्रभावका कारण शनिबार बिहानैदेखि देशका अधिकांश भूभागमा बादल लागेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको छ।

त्यस्तै पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ भने तराईका केही क्षेत्रमा पनि वर्षाको गतिविधि सक्रिय रहने जनाइएको छ।

विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्र, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

रातिको समयमा वर्षाको गतिविधि अझ सक्रिय हुने अनुमान गरिएको छ। महाशाखाका अनुसार राति पनि देशभर बदली रहनेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा, कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा सुदूरपश्चिमका पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

यस्तै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग, साथै कोशी प्रदेशका पहाडी तथा गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

निरन्तरको वर्षासँगै पहाडी क्षेत्रमा पहिरो, गेग्र्यान बहाव, सडक अवरोध तथा नदी–खोलामा आकस्मिक बाढी आउने जोखिम बढ्ने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

तराई क्षेत्रमा डुबान तथा जलजमावको सम्भावना रहेकाले नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन भनिएको छ।

जल तथा मौसम विज्ञान विभागले स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने सूचना नियमित रूपमा पालना गर्न, मौसमको अद्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न तथा अनावश्यक रूपमा जोखिमयुक्त क्षेत्रमा नजान सर्वसाधारणलाई अनुरोध गरेको छ।

Untitled
Untitled
Untitled