एजेन्सी, फिफा विश्वकप–२०२६ को पहिलो सेमिफाइनलमा स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै साविक उपविजेता फ्रान्सलाई २–० ले पराजित गरेको छ।
अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा फ्रान्सलाई निराश बनाउँदै स्पेनले १६ वर्षपछि विश्वकपको फाइनल यात्रा तय गरेको हो।
स्पेनको जितमा मिकेल ओयर्जाबल र पेड्रो पोरो नायक बने। खेलको सुरुवातदेखि नै बल पोसेसनमा स्पष्ट दबाब बनाएको स्पेनले २२औँ मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो।
लामिन यामलमाथि फ्रान्सका लुकास डिग्नेले डिबक्सभित्र फाउल गरेपछि प्राप्त अवसरलाई ओयर्जाबलले गोलमा परिणत गर्दै टोलीलाई अघि बढाए।
पहिलो हाफमा अग्रता बनाएको स्पेन दोस्रो हाफमा झन् आक्रामक देखियो। ५८औँ मिनेटमा डानी ओल्मोको उत्कृष्ट पासलाई सदुपयोग गर्दै पेड्रो पोरोले तीन रक्षकलाई छलाएर आकर्षक गोल गरेपछि स्पेनको जित लगभग सुनिश्चित भएको थियो।
उत्कृष्ट प्रदर्शन गरेका पेड्रोलाई प्लेयर अफ द म्याच घोषित गरियो।
दुई गोलले पछि परेको फ्रान्सले खेलमा फर्कने प्रयास गरेपनि प्रभावकारी आक्रमण गर्न सकेन।
बल पोसेसन र सिर्जनात्मक खेलमा कमजोर देखिएको फ्रान्स लगातार तेस्रो पटक विश्वकप फाइनल पुग्ने अवसरबाट वञ्चित भयो।
यस जितसँगै सन् २०१० को विश्वविजेता स्पेन १६ वर्षपछि पुनः विश्वकपको फाइनलमा पुगेको छ।
अब उपाधिका लागि स्पेनले साविक विजेता अर्जेन्टिना र इंग्ल्यान्डबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।



































