काठमाण्डू, नेपाल आयल निगमले खाना पकाउने एलपीजी ग्यासको आपूर्ति अवस्था सामान्य बनेसँगै देशभर पुनः १४.२ केजी क्षमताको ग्यास सिलिन्डर वितरण शुरु गरेको छ।
अस्थायी रूपमा लागू गरिएको ७.१ केजी सिलिन्डर वितरण व्यवस्था आजदेखि औपचारिक रूपमा हटाइएको निगमले जनाएको छ।
निगमका अनुसार अब उपभोक्ताले साविककै १४.२ केजी क्षमताको एलपीजी सिलिन्डर २ हजार ६० रुपैयाँमा प्राप्त गर्नेछन्।
केही साताअघि भारतबाट ग्यास आपूर्तिमा आएको असहजताका कारण उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले आधा क्षमताको सिलिन्डर वितरण गरिएको थियो।
अहिले आपूर्ति प्रणाली सामान्य अवस्थामा फर्किएपछि पुरानै व्यवस्था पुनः लागू गरिएको हो।
निगमले भारतस्थित इन्डियन आयल कर्पोरेसन (आईओसी) का बोटलिङ प्लान्ट र रिफाइनरीबाट ग्यास लोडिङ नियमित र पर्याप्त मात्रामा हुन थालेको जनाएको छ।
साथै, बजारमा पूर्ण क्षमताको सिलिन्डरको माग बढ्दै गएकाले पनि १४.२ केजीकै सिलिन्डर वितरण गर्ने निर्णय गरिएको उल्लेख गरेको छ।
निगमका अनुसार भारतबाट एलपीजी ग्यासको आयात नियमित रूपमा भइरहेकाले बजारमा आपूर्तिको कुनै समस्या छैन।
देशभर पर्याप्त मौज्दात रहेकाले उपभोक्ताले ग्यास अभाव हुने आशंकामा अनावश्यक रूपमा सिलिन्डर जम्मा नगर्न आग्रह गरिएको छ।
आयल निगमले बजारमा ग्यासको आपूर्ति सहज र नियमित रहेकाले आवश्यकताअनुसार मात्रै खरिद गर्न तथा कृत्रिम अभाव सिर्जना हुन नदिन सबै उपभोक्ता र व्यवसायीलाई सहयोग गर्न अनुरोध गरेको छ।



































