काठमाण्डू, देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले बुधबार पनि अधिकांश क्षेत्रमा वर्षाको क्रम जारी रहने मौसमविद्ले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल नेपालको तराई क्षेत्र नजिक, औसत स्थानभन्दा केही माथि रहेकाले वर्षाको गतिविधि थप प्रभावकारी बनेको हो।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा तथा कर्णाली प्रदेशका केही क्षेत्रमा मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
महाशाखाका अनुसार बुधबार दिउँसो देशका पहाडी र तराई क्षेत्रका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
हिमाली भू-भागका केही स्थानमा वर्षासँगै हल्का हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।
विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा मधेश, बागमती, गण्डकी र लुम्बिनीका तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
रातिको समयमा पनि मौसममा खासै सुधार नआउने विभागको प्रक्षेपण छ।
देशभर बदली कायम रहने, पहाडी र तराई क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने तथा कोशी प्रदेशका पहाडी क्षेत्र र कोशी तथा लुम्बिनी प्रदेशका तराईका केही स्थानमा पुनः भारी वर्षा हुन सक्ने जनाइएको छ।
मौसमविद्हरूले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।
ती क्षेत्रमा भारी वर्षाका कारण नदी–खोला तथा खोल्सामा आकस्मिक बहाव बढ्ने, बाढी, पहिरो, डुबान र भूक्षयको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन भनिएको छ।
विभागले खराब मौसमका कारण कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले यात्रा तथा दैनिक गतिविधि सञ्चालन गर्दा मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा पछ्याउन सर्वसाधारणलाई अनुरोध गरेको छ।



































