काठमाण्डू, सक्रिय मनसुनी प्रणालीका कारण लगातार परेको वर्षाले देशका विभिन्न भागमा बाढी, पहिरो र लेदोको प्रकोप बढ्दै जाँदा राष्ट्रिय सडक सञ्जालमा व्यापक असर परेको छ।
दर्जनौँ स्थानमा सडक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् भने धेरै क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।
नेपाल प्रहरीका अनुसार हाल इलामको मेची राजमार्ग, उदयपुरको सिद्धिचरण लोकमार्ग, काभ्रेपलाञ्चोकको बीपी राजमार्ग, मकवानपुरको कान्तिलोकपथ, सिन्धुपाल्चोकको अरनिको राजमार्ग र अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकखण्ड पहिरो र लेदोका कारण पूर्ण रूपमा बन्द छन्।
सडक खुलाउने प्रयास भइरहे पनि निरन्तर वर्षाले उद्धार र मर्मत कार्यमा कठिनाइ भइरहेको छ।
यस्तै, देशभरका कम्तीमा छ स्थानमा सडक एकतर्फी सञ्चालनमा रहेका छन्।
जोखिमपूर्ण क्षेत्रमा सवारीलाई आलोपालो सञ्चालन गरिए पनि थप पहिरो खस्ने सम्भावना कायमै रहेकाले यात्रुहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
उता, जल तथा मौसम विज्ञान विभागले मनसुन अझ सक्रिय भएकाले बुधबार पनि देशका अधिकांश भूभागमा वर्षाको क्रम जारी रहने जनाएको छ।
विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा मधेश, बागमती, गण्डकी र लुम्बिनीका तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
रातिको समयमा पनि मौसम प्रतिकूल रहने अनुमान गरिएको छ।
विशेषगरी कोशी प्रदेशका पहाडी भू-भाग र कोशी तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पुनः भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान र भूक्षयको जोखिम अझ बढ्ने मौसमविद्हरूले चेतावनी दिएका छन्।
सुरक्षा निकायले नदी–खोला आसपासका बस्ती, पहिरोको जोखिम भएका क्षेत्र तथा राजमार्ग प्रयोग गर्ने यात्रुहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
अत्यावश्यक बाहेक लामो दूरीको यात्रा नगर्न, यात्रा गर्नै परे सम्बन्धित जिल्ला प्रशासन, प्रहरी र सडक विभागबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र गन्तव्यतर्फ लाग्न अनुरोध गरिएको छ।
निरन्तर वर्षाका कारण सडक यातायात, मालवाहक ढुवानी, दैनिक जनजीवन, कृषि तथा आपत्कालीन सेवामा समेत प्रभाव परेको छ।
सम्बन्धित निकायले जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउँदै सडक खुलाउने र उद्धार कार्यलाई तीव्र बनाएको जनाएको छ।




































