काठमाण्डू, चालू मनसुन याममा देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागका अनुसार यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य राखिएकोमा हालसम्म ६ लाख ८२ हजार हेक्टर जमिनमा मात्रै रोपाइँ सकिएको छ।
विभागका महानिर्देशक राजेन्द्र कोइरालाका अनुसार यस वर्षको रोपाइँको गति गत वर्षको तुलनामा केही सुस्त देखिएको छ।
गत वर्ष यही अवधिसम्म करिब ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष भने आधामात्रै रोपाइँ सकिएको छ।
मनसुन शुरुवाती चरणमा पर्याप्त वर्षा नहुनु र केही क्षेत्रमा रोपाइँका लागि आवश्यक पानी ढिलो उपलब्ध हुनु यसको प्रमुख कारण मानिएको छ।
प्रदेशगत तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेश धान रोपाइँमा सबैभन्दा अगाडि रहेको छ। त्यहाँ ८७ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको विभागले जनाएको छ। त्यसपछि गण्डकी प्रदेशमा ६५।९ प्रतिशत, कर्णाली प्रदेशमा ६० प्रतिशत, लुम्बिनी प्रदेशमा ५९ प्रतिशत र बागमती प्रदेशमा ५७।१ प्रतिशत क्षेत्रफलमा धान रोपिसकिएको छ।
यता, धान उत्पादनका दृष्टिले महत्वपूर्ण मानिने कोशी र मधेश प्रदेशमा भने रोपाइँको गति अझै सुस्त देखिएको छ।
विभागका अनुसार कोशी प्रदेशमा ३२ प्रतिशत र मधेश प्रदेशमा ३२.७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ।
यी क्षेत्रमा मनसुनको प्रभाव ढिलो देखिनु र पर्याप्त सिंचाइको अभावका कारण रोपाइँ अपेक्षाअनुसार अघि बढ्न नसकेको बताइएको छ।
कृषि विभागले पछिल्ला दिनमा देशका अधिकांश क्षेत्रमा नियमित वर्षा भइरहेकाले आगामी एक साताभित्र धान रोपाइँले उल्लेखनीय गति लिने विश्वास व्यक्त गरेको छ।
समयमै पर्याप्त वर्षा भइरहे र बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का कारण ठूलो क्षति नभए बाँकी क्षेत्रफलमा पनि रोपाइँ तीव्र रूपमा सम्पन्न हुने विभागको अपेक्षा छ।
नेपालको खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिएको प्रमुख बाली धानको समयमै रोपाइँ सम्पन्न हुनु उत्पादन वृद्धि र कृषि अर्थतन्त्रका लागि महत्वपूर्ण मानिन्छ।
त्यसैले विभागले किसानलाई स्थानीय मौसमको अवस्था हेरेर रोपाइँलाई तीव्रता दिन तथा कृषि प्राविधिकको सल्लाहअनुसार खेती व्यवस्थापन गर्न आग्रह गरेको छ।



































