एजेन्सी, फिफा विश्वकप–२०२६ को उपाधि भिडन्तमा अर्जेन्टिना र स्पेन आमनेसामने हुने निश्चित भएसँगै फाइनल खेलका टिकटले अमेरिकाको खेलकुद इतिहासमै नयाँ मूल्य रेकर्ड बनाएका छन्।
पुनर्बिक्री (रिसेल) बजारमा टिकटको माग अत्यधिक बढेपछि यसको मूल्य सुपर बाउल र एनबीए फाइनलजस्ता प्रतिष्ठित प्रतियोगिताभन्दा पनि महँगो बनेको हो।
दोस्रो बजारमा टिकट बिक्री गर्ने कम्पनी टिकपिकका अनुसार विश्वकप फाइनलको औसत टिकट मूल्य ११ हजार ३२७ अमेरिकी डलर पुगेको छ।
यो अमेरिकामा आयोजना भएका कुनै पनि खेलकुद प्रतियोगिताको इतिहासमै सबैभन्दा महँगो औसत टिकट मूल्य भएको दाबी गरिएको छ।
फाइनलका लागि उपलब्ध सबैभन्दा सस्तो ‘गेट–इन’ टिकटको मूल्य सुरुमा ६ हजार ९४३ डलर थियो।
तर, अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउँदै फाइनल यात्रा तय गरेलगत्तै यसको मूल्य बढेर ७ हजार २०० डलर पुगेको छ।
यो प्रवेशका लागि उपलब्ध न्यूनतम मूल्य भए पनि उत्कृष्ट स्थानका टिकटहरूको मूल्य भने त्यसको कैयौं गुणा बढी पुगेको छ।
टिकपिकका अनुसार अहिलेसम्मको सबैभन्दा महँगो कारोबार न्यू जर्सीस्थित मेटलाइफ स्टेडियम को सेक्शन ११५ ‘ए’ का दुई टिकट बिक्री हुँदा भएको छ।
ती टिकट प्रति टिकट २८ हजार ४७९ अमेरिकी डलरका दरले बिक्री भएका छन्, जसको कुल मूल्य ५६ हजार ९५८ डलर पुगेको छ।
सुपर बाउल र एनबीए फाइनललाई पनि उछिन्यो
विश्वकप फाइनलले अमेरिकाका अन्य प्रतिष्ठित खेल प्रतियोगिताका टिकट मूल्यलाई समेत पछि पारेको छ।
यसअघि सबैभन्दा महँगो औसत टिकट मूल्य सुपर बाउल ५८ (२०२४) को थियो, जहाँ सान फ्रान्सिस्को फोर्टी नाइनर्स र कान्सास सिटी चिफ्सबीचको खेलको औसत टिकट मूल्य ९ हजार ४११ डलर पुगेको थियो।
त्यसपछि सुपर बाउल ५५ (२०२१) को औसत टिकट मूल्य ७ हजार ३१३ डलर, सुपर बाउल ५४ (२०२०) को ६ हजार ५४६ डलर तथा एनबीए फाइनल–२०२६ को तेस्रो खेल (न्यूयोर्क निक्स–सान एन्टोनियो स्पर्स) को औसत टिकट मूल्य ६ हजार ३०८ डलर रहेको थियो।
तेस्रो स्थानको खेलमा पनि उच्च माग
फ्रान्स र इंग्ल्यान्डबीच हुने तेस्रो स्थानको खेलका टिकट पनि अपेक्षाभन्दा महँगा देखिएका छन्।
उक्त खेलको सबैभन्दा सस्तो टिकटको मूल्य करिब ९०० अमेरिकी डलर पुगेको थियो।
तर, इंग्ल्यान्ड सेमिफाइनलबाट बाहिरिएपछि माग केही घट्दा टिकटको मूल्य करिब ३०० डलरले घटेको जनाइएको छ।
किन चुलियो टिकटको मूल्य ?
विश्लेषकहरूका अनुसार अर्जेन्टिना र स्पेनजस्ता विश्व फुटबलका दुई लोकप्रिय टोलीबीच उपाधि भिडन्त हुनु, विश्वभरका समर्थकको असाधारण माग, सीमित टिकट उपलब्धता तथा पुनर्बिक्री बजारमा बढेको प्रतिस्पर्धाले टिकटको मूल्यलाई अभूतपूर्व उचाइमा पुर्याएको हो।
तथ्यांकअनुसार प्रतियोगिता शुरु हुँदा विश्वकप–२०२६ का टिकटको औसत पुनर्बिक्री मूल्य १ हजार ६२२ डलर थियो।
सेमिफाइनलसम्म पुग्दा यो बढेर ४ हजार १६२ डलर पुगेको थियो भने फाइनल तय भएसँगै औसत मूल्य ११ हजार डलरभन्दा माथि पुगेको छ।
यद्यपि प्रतियोगिताका सबै खेलमा टिकटको मूल्य समान रूपमा बढेको थिएन।
स्पेन र बेल्जियमबीचको क्वार्टरफाइनलमा अपेक्षाभन्दा कम माग भएकाले दोस्रो बजारमा टिकटको मूल्य करिब ६० प्रतिशतसम्म घटेको थियो।
आयोजक राष्ट्र अमेरिका र स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको पोर्चुगल समयअघि नै प्रतियोगिताबाट बाहिरिएपछि केही खेलप्रतिको आकर्षण कम हुँदा टिकट बजारमा पनि त्यसको प्रभाव परेको विश्लेषण गरिएको छ।


































