२०८३ साउन २ शनिवार | Saturday, Jul 18 2026

निरन्तर वर्षाले राजमार्गहरू प्रभावित, केही सडक खुले पनि राति यात्रा गर्न रोक: पहिरोका कारण अझै तीन प्रमुख सडक अवरुद्ध

Untitled
Untitled
Untitled

काठमाण्डू, देशभर सक्रिय मनसुनी प्रणालीका कारण परेको अविरल वर्षाले राष्ट्रिय राजमार्गहरूमा आवागमन प्रभावित बनेको छ।

पहिरो, ढुंगा, लेदो र हिलोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भइरहेका छन् भने केही सडकमा जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारी सञ्चालनमा समयसीमा लागू गरिएको छ।

नेपाल प्रहरीका अनुसार बुधबार साँझ पहिरोका कारण पूर्ण रूपमा बन्द भएको मकवानपुरको कान्तिलोकपथ बिहीबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ।

बकैया गाउँपालिका–११ स्थित घट्टेपाखा क्षेत्रमा माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। सडकमा थुप्रिएको पहिरो हटाएपछि सवारी आवागमन पुनः सुचारु गरिएको हो।

यद्यपि मनसुनको जोखिम अझै कायमै रहेकाले कान्तिलोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ।

रातिको समयमा पहिरो खस्ने जोखिम उच्च रहने भएकाले यस्तो व्यवस्था गरिएको हो।

यस्तै, काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

यात्रु र चालकको सुरक्षालाई प्राथमिकता दिँदै जिल्ला प्रशासन र सुरक्षा निकायले यो निर्णय गरेका हुन्।

यसैबीच, इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा पर्ने मेची राजमार्ग हिलो र चिप्लो सडकका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक सञ्चालन हुन समय लाग्ने सम्भावना रहेकाले प्रहरीले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

त्यस्तै, अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ अन्तर्गत पर्ने सालझण्डी–ढोरपाटन सडकखण्डमा माथिबाट ठूलो ढुंगा खस्दा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

सडक खुलाउने प्रयास भइरहे पनि निरन्तर वर्षाका कारण मर्मत कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो क्षेत्रमा पर्ने अरनिको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक विभाग, नेपाल प्रहरी र स्थानीय प्रशासनको संयुक्त टोलीले पहिरो हटाउने तथा सडक खुलाउने काम जारी राखेको छ।

मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

त्यसैले नदी–खोला आसपास, पहिरोको जोखिम भएका पहाडी क्षेत्र तथा राजमार्ग प्रयोग गर्ने यात्रुहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रहरीले अत्यावश्यक बाहेक लामो दूरीको यात्रा नगर्न, यात्रा गर्नै परे सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा सडक विभागबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।

साथै वर्षायामभर पहिरो, बाढी र डुबानको जोखिम उच्च रहने भएकाले स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा पछ्याउन पनि सर्वसाधारणलाई आग्रह गरिएको छ।

Untitled
Untitled
Untitled