२०८३ साउन २ शनिवार | Saturday, Jul 18 2026

चाडपर्वअघि बजार व्यवस्थापनमा जोड, उपभोक्ता जागरण अभियानले सरकारलाई दियो सात बुँदे सुझाव

Untitled
Untitled
Untitled

काठमाण्डू, चाडपर्व नजिकिँदै जाँदा बजारमा हुने सम्भावित मूल्यवृद्धि, कृत्रिम अभाव र उपभोक्ता ठगी नियन्त्रण गर्न उपभोक्ता जागरण अभियान नेपालले सरकारलाई समयमै प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।

अभियानले नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई भेटेर बजार अनुगमन सुदृढ बनाउनेदेखि उपभोक्ता संरक्षणसम्बन्धी कानून संशोधनसम्मका विषयमा ध्यानाकर्षण गराएको हो।

अभियानका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको नेतृत्वमा सिंहदरबार पुगेको टोलीले वस्तु तथा सेवा बजारमा सुशासन कायम गर्न प्रभावकारी नियमन, नियमित अनुगमन र उपभोक्ता अधिकारको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएको छ।

सो अवसरमा अभियानको वार्षिक स्मारिका तथा उपभोक्ता हितसम्बन्धी संस्थागत सुझाव पनि मुख्यसचिव कार्कीलाई हस्तान्तरण गरिएको थियो।

भेटका क्रममा अध्यक्ष भण्डारीले नयाँ आर्थिक वर्षको बजेटपछि भएका कर समायोजन, साउनदेखि शुरु हुने चाडपर्वको चाप तथा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आउने उतारचढावले उपभोग्य वस्तुको मूल्य बढ्न सक्ने सम्भावना औँल्याउँदै सरकारले चाडपर्व लक्षित विशेष बजार अनुगमन र आपूर्ति व्यवस्थापन योजना तत्काल लागू गर्नुपर्नेमा जोड दिए।

अभियानले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक रूपमा मूल्य बढाउने प्रवृत्तिमाथि कडा निगरानी गर्न सम्बन्धित निकायबीच समन्वय बढाउन पनि सरकारलाई आग्रह गरेको छ।

यसैबीच, सरकारले आर्थिक वर्ष २०८३/८४ लाई कानून सुधार तथा निर्माण वर्ष का रूपमा अघि बढाउँदै १६६ वटा कानून निर्माण तथा संशोधनको तयारी गरिरहेको सन्दर्भमा उपभोक्ता संरक्षण ऐन, २०७५ लाई पनि प्राथमिकताका साथ संशोधन गर्नुपर्ने माग अभियानले राखेको छ।

बदलिँदो बजार संरचना र डिजिटल कारोबारलाई समेत समेट्ने गरी ऐनलाई समयानुकूल बनाउनुपर्ने धारणा टोलीले व्यक्त गरेको छ।

मुख्यसचिवसँगको छलफलपछि अभियानका प्रतिनिधिहरूले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक मोतिराम सापकोटा र निर्देशक अनिल किराँतीसँग पनि भेटवार्ता गरेका थिए।

भेटमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण, बजार अनुगमनलाई नियमित र परिणाममुखी बनाउने, उपभोक्ता गुनासोको शीघ्र सुनुवाइ तथा उपभोक्ता अधिकार कार्यान्वयनका विषयमा छलफल भएको अभियानले जनाएको छ।

मुख्यसचिव र विभागीय नेतृत्वसँग भएको भेटमा अभियानका अध्यक्ष भण्डारीसँगै उपाध्यक्ष रोहित दाहाल, महासचिव चिन्तामणि पराजुली तथा सदस्य मुरारी बस्तीलगायत पदाधिकारीहरूको सहभागिता रहेको थियो।

उपभोक्ता जागरण अभियान नेपालले बजारलाई स्वच्छ, पारदर्शी र उपभोक्तामैत्री बनाउन सरकार, नियामक निकाय, निजी क्षेत्र र उपभोक्ता संस्थाबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उपभोक्ताको अधिकारलाई व्यवहारमै सुनिश्चित गर्ने नीति र कार्यान्वयनमा जोड दिएको छ।

Untitled
Untitled
Untitled