२०८३ साउन २ शनिवार | Saturday, Jul 18 2026

साउने संक्रान्ति मनाइँदै, दक्षिणायन प्रारम्भ: शिव आराधना र ‘लुतो फाल्ने’ परम्पराले थप्यो सांस्कृतिक रौनक

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली हिन्दू समुदायले आज साउने (कर्कट) संक्रान्ति पर्व स्नान, दान, पूजा–आराधना र परम्परागत सांस्कृतिक विधिअनुसार देशभर मनाइरहेका छन्।

सौर पात्रोअनुसार सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने संक्रान्तिका रूपमा मनाउने परम्परा प्राचीनकालदेखि चलिआएको हो।

आजबाट सूर्यको दक्षिणतर्फको यात्रा अर्थात् दक्षिणायन शुरु हुने धार्मिक विश्वास छ। वैदिक परम्परामा उत्तरायण र दक्षिणायनलाई वर्षका दुई महत्वपूर्ण खण्डका रूपमा लिइन्छ।

दक्षिणायनलाई तपस्या, साधना र धार्मिक अनुष्ठानका लागि शुभ समय मान्ने प्रचलन छ। साउने संक्रान्तिसँगै भगवान् शिवको प्रिय महिना साउन पनि शुरु भएको छ।

यस अवसरमा पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा भक्तजनले जल चढाउने, रुद्राभिषेक गर्ने, व्रत बस्ने र शिवको आराधना गर्ने क्रम शुरु भएको छ।

विशेषगरी साउनका सोमबार शिव मन्दिरमा भक्तजनको उल्लेख्य भीड लाग्ने परम्परा रहिआएको छ।

साउन महिनामा महिलाले हरियो चुरा, हरिया पोते र हरियो पहिरन लगाउने चलन पनि विशेष सांस्कृतिक महत्वसँग जोडिएको छ।

हरियो रंगलाई प्रकृति, समृद्धि, सौभाग्य र नयाँ जीवनको प्रतीकका रूपमा लिने गरिन्छ।

साउने संक्रान्तिका अवसरमा मनाइने ‘लुतो फाल्ने’ परम्परा पनि नेपाली समाजको मौलिक सांस्कृतिक अभ्यासमध्ये एक हो।

असारभर खेतबारीमा काम गर्दा लाग्ने छालासम्बन्धी रोग र संक्रमणबाट बच्ने जनविश्वासका आधारमा यो परम्परा विकसित भएको मानिन्छ।

यस अवसरमा कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती लगायत औषधीय गुण भएका वनस्पति प्रयोग गरी प्रतीकात्मक रूपमा रोग र अशुभ शक्तिलाई घरबाट बाहिर निकाल्ने विधि अपनाइन्छ।

कतिपय स्थानमा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्टी बजाउने र अगुल्टो फाल्ने परम्परा अझै जीवित छ।

धार्मिक आस्था, कृषि संस्कृति, लोकविश्वास र प्राकृतिक जीवनशैलीसँग गहिरो सम्बन्ध रहेको साउने संक्रान्तिले नेपाली समाजमा विशेष स्थान ओगटेको छ।

आधुनिक जीवनशैलीसँगै धेरै परम्परा परिवर्तन हुँदै गएपनि साउने संक्रान्तिले धार्मिक विश्वास, सांस्कृतिक मौलिकता र नेपाली पहिचानलाई आज पनि निरन्तरता दिइरहेको छ।

Untitled
Untitled
Untitled