२०८३ साउन ९ शनिवार | Saturday, Jul 25 2026

काठमाडौं उपत्यकामा बिहानदेखि बदली, दिउँसो घाम लाग्ने र अपराह्न फेरि वर्षाको सम्भावना

Untitled
Untitled
Untitled

काठमाण्डू, काठमाडौं उपत्यकामा शुक्रबार बिहानैदेखि मौसम बदली भएको छ।

रातिदेखि नै आकाशमा बादल लागेकाले बिहान घाम नलागे पनि दिन चढ्दै जाँदा मौसममा केही सुधार आउने र त्यसपछि फेरि वर्षाको सम्भावना रहने मौसमविद्ले बताएका छन्।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले उपत्यकामा बाक्लो बादल रहे पनि त्यो क्रमशः हट्दै जाने सम्भावना छ।

उनका अनुसार बिहानको समयमा ठूलो वर्षाको सम्भावना नरहेको र केही समय घाम लाग्न सक्ने अवस्था रहेको छ।

तर, दिउँसोपछि पुनः बादल विकास भई मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

मौसमविद् अधिकारीका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा नेपालको औसत (सरदर) स्थानमै रहेकाले देशभर अत्यधिक वर्षा हुने अवस्था भने देखिएको छैन।

त्यसैले पछिल्ला केही दिनजस्तो व्यापक र निरन्तर वर्षाको सम्भावना अहिले कम रहेको उनले बताए।

यद्यपि स्थानीय वायुसँगै मनसुनी प्रणालीको प्रभावका कारण विशेषगरी पहाडी भू-भाग तथा पूर्वी तराईको तुलनामा पश्चिमी तराईका जिल्लाहरूमा वर्षाको सम्भावना केही बढी रहेको मौसमविद्को भनाइ छ।

मौसम महाशाखाले देशभरको वर्षा, बादलको अवस्था र सम्भावित जोखिमबारे विस्तृत तथा अद्यावधिक मौसम बुलेटिन बिहान ८ बजे सार्वजनिक गर्ने जनाएको छ।

मौसमविद्हरूले अपराह्नपछि वर्षाको सम्भावना रहेकाले खुला स्थानमा हुने गतिविधि, कृषि कार्य तथा सडक यात्रामा आवश्यक सतर्कता अपनाउन पनि सुझाव दिएका छन्।

लगातार बदलिने मनसुनी मौसमका कारण स्थानीय रूपमा मौसमको अवस्था छोटो समयमा परिवर्तन हुन सक्ने भएकाले विभागका पछिल्ला मौसम सूचनालाई नियमित रूपमा पछ्याउन आग्रह गरिएको छ।

Untitled
Untitled
Untitled