२०८३ साउन ८ शुक्रवार | Friday, Jul 24 2026

मेलम्चीको विकल्प अझै कागजमै, वर्षभरि पानी खुवाउने सरकारी योजना बजेट अभावमा अलपत्र

Untitled
Untitled
Untitled

काठमाण्डू, काठमाण्डू उपत्यकालाई वर्षभरि पर्याप्त खानेपानी उपलब्ध गराउने उद्देश्यले सरकारले घोषणा गरेका मेलम्चीका वैकल्पिक आयोजना अझै कार्यान्वयनमा जान सकेका छैनन्।

मेलम्ची आयोजनामा पटक–पटक बाढी, गेग्रान र प्राकृतिक विपद्का कारण पानी आपूर्ति अवरुद्ध हुने समस्या दोहोरिए पनि त्यसको दीर्घकालीन समाधानका रूपमा अघि सारिएका अधिकांश आयोजना कागजमै सीमित बनेका छन्।

सरकारले वर्षौंदेखि सिन्धुपाल्चोकका याङ्ग्री, लार्के र रिबर्मा खोलाबाट थप खानेपानी काठमाडौं ल्याउने योजना सार्वजनिक गर्दै आएको छ।

योजनाअनुसार याङ्ग्री र लार्केबाट दैनिक ३४ करोड लिटर तथा रिबर्माबाट थप ८ करोड लिटर पानी उपत्यकामा ल्याउने लक्ष्य राखिएको थियो।

तर, घोषणा भएको लामो समय बितिसक्दा पनि निर्माण प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन।

तीन वर्षको वाचा, पाँच वर्षपछि पनि काम शुरु भएन

तात्कालीन प्रधानमन्त्री केपी ओलीले २०७७ चैत २० गते मेलम्चीको पानी काठमाडौं वितरणको शुभारम्भ गर्दै याङ्ग्री–लार्के आयोजनाको औपचारिक घोषणा गरेका थिए।

तीन वर्षभित्र आयोजनाको पानी राजधानीमा ल्याइने प्रतिबद्धता गरिएको थियो। तर, त्यसयता मेलम्ची क्षेत्रमा आएको भीषण बाढीले आयोजना पटक–पटक प्रभावित बनायो।

त्यसपछि सरकारले रिबर्मा खोलालाई पनि वैकल्पिक स्रोतका रूपमा अघि सारेको भएपनि तीनवटै आयोजना अझै प्रारम्भिक तयारीकै चरणमा छन्।

अन्य विकल्प पनि घोषणामै सीमित

मेलम्चीको विकल्पका रूपमा मकवानपुरको सिस्नेरी, ललितपुरको ठोस्ने, भक्तपुरको महादेव खोला र काठमाडौंको सुन्दरीजल खोला खानेपानी आयोजना निर्माण गर्ने सरकारी योजना पनि व्यवहारमा अघि बढ्न सकेको छैन।

सिस्नेरी आयोजनाको पूर्वसम्भाव्यता अध्ययन २०७९ सालमै सम्पन्न भइसकेको थियो।

सरकारले यसलाई लगानी सम्मेलनहरूमा प्राथमिक परियोजनाका रूपमा प्रस्तुत गर्दै कार्यान्वयनलाई तीव्रता दिने घोषणा गरेपनि निर्माण प्रक्रिया अझै शुरु हुन सकेको छैन।

बजेट र कानूनी जटिलता मुख्य बाधा

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. डोलप्रसाद चापागाईंका अनुसार पर्याप्त बजेट, लगानी सुनिश्चितता र कानुनी प्रक्रियामा देखिएका जटिलताका कारण वैकल्पिक आयोजना अघि बढ्न सकेका छैनन्।

उनका अनुसार याङ्ग्री र लार्केको पानी मेलम्ची प्रणालीसँग जोड्न करिब ११.५ किलोमिटर नयाँ सुरुङ निर्माण गर्नुपर्नेछ।

तर, मेलम्ची आयोजनाकै स्थायी संरचना अझै पूर्ण रूपमा सुरक्षित र व्यवस्थित नभएकाले नयाँ आयोजना शुरु गर्न कठिनाइ भइरहेको छ।

यसका साथै मेलम्ची क्षेत्रको भू-गोल र बाढीको जोखिमलाई ध्यानमा राख्दै याङ्ग्री–लार्के आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नै पुनरावलोकन गर्नुपर्ने अवस्था आएको बोर्डको भनाइ छ।

सिस्नेरी आयोजना फेरि नयाँ प्रक्रियामा

सिस्नेरी खानेपानी आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न भइसके पनि डीपीआर तयार गर्ने जिम्मा पाएको परामर्शदाता कम्पनीले काम पूरा नगरेपछि सम्झौता रद्द गरिएको थियो।

अहिले नयाँ परामर्शदाता छनोटको अन्तिम तयारी भइरहेको छ।

यस आयोजनाको डीपीआरका लागि विश्व बैंकले दुई मिलियन अमेरिकी डलर अनुदान सहयोग गर्ने सहमति जनाएको छ।

योजनाअनुसार कुलेखानी नजिकको सिस्नेरी खोलाबाट पानी करिब २०० मिटर उचाइमा पम्प गरी जलाशयमा संकलन गरिनेछ।

त्यसपछि पाइपलाइनमार्फत ललितपुरको भैंसेपाटी हुँदै काठमाडौं उपत्यकामा वितरण गरिनेछ। आयोजनाको अनुमानित लागत करिब २६ अर्ब रुपैयाँ रहेको छ।

अध्ययन सम्पन्न, निर्माण अझै अनिश्चित

ललितपुरको ठोस्ने र भक्तपुरको महादेव खोला खानेपानी आयोजनाको प्रारम्भिक अध्ययन सम्पन्न भएपनि पर्याप्त बजेट अभावका कारण निर्माण प्रक्रिया सुरु हुन सकेको छैन।

खानेपानी विज्ञहरूका अनुसार उपत्यकाको तीव्र जनसंख्या वृद्धि र बढ्दो पानीको मागलाई ध्यानमा राख्दा मेलम्चीमा मात्र निर्भर रहने अवस्था दिगो समाधान होइन।

मनसुनसँगै दोहोरिने संकट

हाल काठमाडौं उपत्यकाको मुख्य खानेपानी स्रोत मेलम्ची आयोजना नै हो।

तर, मनसुनका बेला बाढी, पहिरो र गेग्रानका कारण आयोजना पटक/पटक बन्द हुँदा राजधानीमा खानेपानी अभाव चर्किने गरेको छ।

सरकारले वैकल्पिक स्रोत विकासको प्रतिबद्धता दोहोर्याइरहे पनि बजेट व्यवस्थापन, लगानी सुनिश्चितता र निर्णय प्रक्रियामा भएको ढिलाइका कारण ती आयोजना अझै कार्यान्वयनमा जान सकेका छैनन्।

परिणामस्वरूप, काठमाडौंवासीले हरेक वर्ष मनसुनसँगै खानेपानी संकटको सामना गर्नुपर्ने अवस्था यथावत् रहेको छ।

Untitled
Untitled
Untitled