काठमाडौं, भारतमा जारी एसएमएस फ्रेण्डसिप कप टी–२० प्रतियोगितामा नेपालले आज बरोडासँग खेल्दैछ । यी दुई टोलीबीचको खेल दिउँसो २ः४५ देखि सुरु हुनेछ ।
प्रतियोगितामा नेपाल लगातार दोस्रो जLतको खोजीमा छ । पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो ।
आइतबार भएको उक्त म्याचमा गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो ।
नेपाल अब बरोडाविरुद्ध पनि सहज जीत निकालेर फाइनलको सम्भावना बलियो बनाउन चाहन्छ ।
यद्यपि तुलनात्मकरूपमा गुजरातभन्दा बरोडाको टिममा घरेलु क्रिकेटको राम्रो अनुभवी भएका बढी खेलाडी छन् ।
बरोडाको टिममा कप्तान विष्णु सोलंकी, ज्योत्सनील सिंह, शाश्वत रावत, प्रियांसु मोलिया, भानु पनिया, सोयब सोपारिया, अभिमन्यू राजपूत, मोहित मोंगियाजस्ता रणजी ट्रफी, विजय हजारे र सैयद मुस्ताक अली ट्रफी खेलिसकेका खेलाडी छन् ।
उनीहरूमध्ये प्रियांसु मोलियाले यही वर्ष भएको यू–१९ विश्वकपमा नेपालविरुद्ध पनि खेलेका थिए ।
तर, बरोडाको टिममा पनि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका खेलाडी भने छैनन् ।
घरेलु क्रिकेटको राम्रो अनुभव हासिल खेलाडीले भरिपूर्ण टिम भएपनि बरोडाले सोमबार गुजरातसँग ५ विकेटको हार बेहोरेको थियो ।
यस खेलमा बरोडाले दिएको १४३ रनको लक्ष्य गुजरातले १८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
बरोडाविरुद्ध नेपालले प्लेइङ–११ मा कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार साह, रोहितकुमार पौडेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी र ललितनारायण राजवंशीले मौका पाउने सम्भावना छ ।
यो प्रतियोगिता खेलेपछि नेपाली टिम एसिसी प्रिमियर कप खेल्ने ओमान जानेछ । प्रिमियर कप यही १२ अप्रिलदेखि सुरु हुनेछ ।




































