काठमाडौं, भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले टी–२० फ्रेण्डसिप कपमा आज गुजरातसँग खेल्दैछ ।
यी दुई टिमबीचको खेल दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ । नेपाल एसिसी प्रिमियर कप र विश्वकपको तयारीस्वरूप भारतमा प्रतियोगिता खेल्न लागेको हो ।
प्रतियोगिताअन्तर्गत नेपालले मंगलबार बरोडासँग खेल्ने तालिका छ । प्रतियोगितामा नेपालले दुवै टिमसँग दुई/दुई खेल खेल्नेछ । तालिकाको शीर्ष दुईमा पुग्ने टिमले ७ अप्रिलमा फाइनल खेल्नेछन् ।
भारत भ्रमण सकाएर नेपाली टिम प्रिमियर कप खेल्ने ओमान जानेछ । प्रिमियर कपमा समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल १२ अप्रिलमा मलेसियासँग खेल्ने तालिका छ ।
यस्तै, समूह चरणमा नेपालले १३ अप्रिलमा कतार, १५ अप्रिलमा हङकङ तथा १७ अप्रिलमा साउदी अरेबियाको सामना गर्नेछ ।
प्रतियोगिताको विजेता टोली आउँदो वर्ष हुने एसिया कपमा छनोट हुनेछ ।




































