२०८३ साउन ८ शुक्रवार | Friday, Jul 24 2026

काँग्रेस सभापति देउवा भन्छन, ‘हामी सबैमा एकता रहिरहे बहुमत टाढा छैन’

Untitled
Untitled
Untitled

पोखरा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान विश्वकै उत्कृष्ट भए तापनि संविधानको प्रयोगमा आएका केही कठिनाइलाई संशोधन गर्न आवश्यक भएको बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवम् नेपाली कांग्रेस गण्डकी प्रदेशको व्यवस्थापनमा प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि सङ्गठन र समसामयिक सन्दर्भमा आयोजित अभिमुखीकरण कार्यक्रमको सोमबार पोखरामा उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

सभापति देउवाले वर्तमान संविधानमा राखिएको सङ्घीय लोकतान्त्रिक व्यवस्था उच्चतम व्यवस्था भएको प्रस्ट पार्दै समावेशी र समानुपातिक प्रणालीले सबै नागरिकका अधिकारलाई समेटेको बताए ।

उनले सबै जातजाति, भाषाभाषी मिलेर बसेको समाजलाई एकताबद्ध गराई लैजान वर्तमान संविधान सफल भएको भन्दै हाम्रो संविधानलाई अन्य मुलुकका देशहरुले पनि अनुकरण गर्न थालेको बताए ।

सभापति देउवाले संविधानको प्रयोगमा आएका केही कठिनाइहरुलाई राजनीतिक दलहरुको सहमतिमा संशोधन गरी संविधानलाई संस्थागत गर्ने प्रक्रिया अगाडि बढेको बताए ।

उनले सङ्घीयताका बारेमा बोल्नुहुँदै प्रदेशलाई थप अधिकार प्रदान गरी बलियो बनाउनुपर्नेमा जोड दिए ।

उनले काठमाडौं केन्द्रित विकासले देशको सर्वाङ्गीण विकास नहुने भएकाले पनि कांग्रेसले सुरुवातदेखि नै सङ्घीयताका पक्षमा बोल्दै आएको स्पष्ट पारे ।

सभापति देउवाले वर्तमान संविधानले कुनै पनि दलको स्पष्ट बहुमत नआएकाले गठबन्धनको सरकारको विकल्प नभएको बताए । यसर्थ पनि संविधान संशोधन आवश्यक रहेको उनको भनाइ छ ।

कांग्रेसका बारेमा बोल्दै नेता देउवाले बीपी, गणेशमान, किसुनजी, गिरिजाबाबु र सुशील कोइरालाजस्ता नेताहरुले हाम्रो काँधमा सुम्पिएको जिम्मेवारी पूरा गर्न पार्टीभित्र बृहत् एकता जरुरी रहेको बताए ।

उनले जनताका सेवकका रुपमा नेताहरुले म गर्न निर्देशन दिँदै आगामी निर्वाचनमा पार्टीलाई बहुमतमा लैजान आग्रह गरे ।

उनले भने ,“हामी सबैमा एकता रहिरहे बहुमत टाढा छैन् । यसका लागि सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी पूरा गरौँ ।”

सङ्घीयता हाम्रो एजेन्डा हो स् उपसभापति खड्का

त्यसैगरी, पार्टीका उपसभापति एवम् प्रशिक्षण विभाग प्रमुख पूर्णबहादुर खड्काले समावेशी र सङ्घीयताका लागि नेपाली कांग्रेस प्रजातान्त्रिकले २०६० सालमा नै निर्णय गरिसकेकाले कुनै अन्य पार्टीले सङ्घीयता हाम्रो एजेन्डा भनी दाबी नगर्दा हुने बताए ।

उनले पार्टी प्रशिक्षणका बारेमा बोल्दै प्रशिक्षणमा आशा, भरोसा र सकारात्मक सन्देश प्रवाह हुनुपर्नेमा जोड दिँदै नकारात्मक टिप्पणीले पार्टी सुदृढ नहुने बताए ।

हाम्रा कमिकमजोरी हामी आफैबाट निराकरण गरी समर्पणको भाव, सरलपन र राष्ट्रियताको भावलाई कार्यकर्ताका माझ पुर्‍याउन अपरिहार्य रहेको उनको भनाइ थियो ।

२०४८ सालपछि कांग्रेसले लिएको खुल्ला अर्थ नीतिका कारण मुलुक अहिलेसम्म विकासको गतिमा अगाडि बढेको कुरा जनतासमक्ष पुर्‍याउन कार्यकर्तालाई उहाँले आग्रह गरे ।

युवाहरुले अहिले प्रविधिमैत्री वातावरण खोज गरेकाले पार्टीले पनि सोही अनुसार युवा लक्षित कार्यक्रमलाई प्राथमिकता राखेको भन्दै उनले सामाजिक सञ्जालको सही सदुपयोग गरी अगाडि बढ्न युवाहरुलाई आग्रह गरे ।

‘हामी सबैमा एकता रहिरहे बहुमत टाढा छैन’

प्रशिक्षण विभाग प्रमुख खड्काले पार्टीको प्रशिक्षणलाई केन्द्र, प्रदेश, जिल्ला र पालिका गरी चार तहमा विभाजन गरी कार्यकर्ताहरुलाई प्रशिक्षित गर्न थालिएको बताए ।

कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले प्रशिक्षणले कांग्रेसले गुमाउँदै गएको विरासतलाई स्थापित गराउने विश्वास व्यक्त गरे ।

उनले पोखराबाट २०६१ फागुन सात गते कांग्रेसकै नेतृत्वमा भएको जनआन्दोलन र स्थापित प्रजातन्त्रका बारेमा पार्टीको दस्तावेजमा लेखिनुपर्ने बताए ।

उनले सो आन्दोलन धर्मनिरपेक्षताका लागि नभई धर्मस्वतन्त्रताका लागि थियो भन्ने कुरा पार्टीले बिर्सन नहुने बताए ।

नेता शुक्रराजले जनतालाई मालिक बनाए मात्र कांग्रेस बलियो हुने उल्ले गर्दै आफूहरु जनताको सेवक बन्नुपर्ने विचार व्यक्त गरे ।

नेपाली कांग्रेसका सातै प्रदेशका सभापतिहरु, प्रशिक्षण विभाग प्रमुखहरु सहभागी रहेको सो कार्यक्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

Untitled
Untitled
Untitled