२०८१ मंसिर २७ बिहीवार | Thursday, Dec 12 2024

सामाजिक सञ्जाल नियमन विधेयकमा बालबालिकाको सवाल समेट्नुपर्ने

Untitled
Untitled
Untitled

काठमाडौं । सामाजिक सञ्जाल नियमन विधेयकमा बालबालिकाको सवाल समेट्न नसकेको भन्दै सरोकारवालाले आवाज उठाएका छन्।

बालबालिका शान्ति क्षेत्र अभियान (सिजप)द्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा सामाजिक सञ्जालमार्फत सबैभन्दा धेरै पीडित बालबालिका भइरहेको तर मन्त्री परिषद्मा विचाराधीन “सामाजिक सञ्जाल नियमन विधेयकमा बालबालिका सम्बन्धी सवाल नसमेटिएको सहभागीहरूले बताएका हुन्।

बालबालिका शान्ति क्षेत्र अभियानका अध्यक्ष मिना शर्माले प्रविधिको पहुँचका कारण बालबालिका पनि सामाजिक सञ्जालमा छन्, ठिक/बेठिक छुट्याउन नसक्ने उमेरका कारण उनीहरू प्रविधिको दुरुपयोगले बालबालिका दुर्व्यवहारमा परिरहेका छन् भन्दै सो विधेयकबारेमा बाल अधिकारको दृष्टिले छलफल गर्न आवश्यक रहेको  बताइन्।

सो अवसरमा अध्यापक आनन्दराज खनालले  “सामाजिक सञ्जाल नियमन विधेयक” सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै प्रविधिको उपयोगको फराकिलो परिभाषा र प्राविधिक पक्षको अध्ययनविना नै सो विधेयक तयार पारेको बताए ।

उनले हाल नेपालका सबै बालबालिका इन्टरनेट र मोबाइल फोनको पहुँच कारण सञ्जाल चलाइरहेका छन्, भने सामाजिक सञ्जालमार्फत नै उनीहरूमाथि हुने दुर्व्यवहार विरुद्ध कारबाहीको सम्बन्धमा विधेयक मौन रहेको र कतै पनि बालबालिका शब्द समेत नपरेको दाबी गरे।

अध्यापक खनालले सो विधेयक धेरै अर्थमा अधुरो रहेकोले परिमार्जनको आवश्यक छ भन्दै राज्यले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हननका लागि मात्र तयार गरिएको विधेयकमा समेटिएको बुँदाले जनाउने बताए।

कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी टंक पन्तले प्रविधिको उपयोग तथा दुरुपयोग दुवै काम हुने र सरकारले दुरुपयोगको नियमनका लागि भन्दै तयार गरिएको विधेयकबारे अझै प्रभावकारी ढङ्गले छलफल गर्न सकिने ठाउँ रहेको बताए।

आसमान नेपालका कार्यक्रम व्यवस्थापक मणिराम आचार्यले सो विधेयकले बालबालिकाप्रति प्रविधिको दुरुपयोग गरी हुने हिंसाको न्यूनीकरणका सवाल समेट्नुपर्ने आवश्यकता औँल्याए।

Untitled
Untitled
Untitled