२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

विभिन्न विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो, १९९ उम्मेदवार योग्य

Untitled
Untitled
Untitled

काठमाण्डू, विभिन्न विश्वविद्यालयमा रिक्त रहेका उपकुलपति पदमा नियुक्तिको प्रक्रिया थप अगाडि बढेको छ ।

उपकुलपति छनोट तथा सिफारिसका लागि गठन गरिएको समितिले आवेदन दिएका व्यक्तिहरूमध्ये योग्यता पुगेका उम्मेदवारहरूको सूची सार्वजनिक गरेसँगै अब छनोट प्रक्रिया नयाँ चरणमा प्रवेश गरेको हो ।

शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयअन्तर्गत क्रियाशील समितिले आवेदनदाता उम्मेदवारका शैक्षिक योग्यता, अनुभव तथा आवश्यक कागजातको परीक्षणपछि स्वीकृत उम्मेदवारको विवरण बुधबार सार्वजनिक गरेको जनाएको छ ।

सार्वजनिक विवरणअनुसार त्रिभुवन विश्वविद्यालयमा उपकुलपति बन्ने आकांक्षीको संख्या सबैभन्दा बढी देखिएको छ ।

त्यहाँ ४३ जनाको आवेदन स्वीकृत भएको छ ।

यस्तै पूर्वाञ्चल विश्वविद्यालयका लागि ३४, पोखरा विश्वविद्यालयका लागि ३३, राजर्षि जनक विश्वविद्यालयका लागि २१, सुदूरपश्चिम विश्वविद्यालयका लागि १८ र मध्यपश्चिम विश्वविद्यालयका लागि १७ जना प्रतिस्पर्धाका लागि छनोट भएका छन् ।

त्यसैगरी, लुम्बिनी बौद्ध विश्वविद्यालय तथा कृषि तथा वन विश्वविद्यालयका लागि १३–१३ जनाले स्वीकृति प्राप्त गरेका छन् ।

समितिका अनुसार विभिन्न विश्वविद्यालयका रिक्त पदका लागि कुल २१८ आवेदन परेको थियो ।

प्रारम्भिक परीक्षण र कागजात प्रमाणीकरणपछि १९९ जना उम्मेदवारलाई मात्र अन्तिम प्रतिस्पर्धामा सहभागी हुन योग्य ठहर गरिएको हो ।

अब यी उम्मेदवारहरूले प्रस्तुतीकरण र अन्तर्वार्ता प्रक्रियामा सहभागी हुनुपर्नेछ ।

त्यसपछि समितिले मूल्याङ्कनका आधारमा प्रत्येक विश्वविद्यालयका लागि तीन–तीन जनाको नाम छनोट गरी सम्बन्धित कुलपति तथा प्रधानमन्त्रीसमक्ष सिफारिस गर्ने व्यवस्था रहेको छ ।

समितिले गत वैशाख २५ गते जारी ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम आवेदन आह्वान गरेको थियो ।

सो कार्यविधिअनुसार खुला प्रतिस्पर्धाबाट योग्य नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

यसअघि सरकारको सिफारिसमा जारी विशेष अध्यादेशमार्फत विभिन्न विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि नेतृत्व रिक्तताको अवस्था सिर्जना भएको थियो ।

त्यसपछि स्थायी नियुक्तिको तयारीस्वरूप चयन प्रक्रिया अघि बढाइएको हो ।

नियमित नियुक्ति नहुँदासम्म अधिकांश विश्वविद्यालयमा निमित्त पदाधिकारीमार्फत प्रशासनिक काम सञ्चालन भइरहेको छ ।

यसैबीच, नेपाल खुला विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि भने अलग्गै रूपमा नियुक्ति प्रक्रिया यसअघि नै शुरु भइसकेको सम्बन्धित स्रोतले जनाएको छ ।

Untitled
Untitled
Untitled