२०८३ जेठ ३० शनिवार | Saturday, Jun 13 2026

अध्ययन भिषा सिफारिस प्रकरणमा शंकास्पद कागजात, गृह मन्त्रालयलाई छानबिनको निर्देशन

Untitled
Untitled
Untitled

काठमाण्डौ । अध्ययन भिषा सिफारिस प्रक्रियामा नक्कली कागजात तथा शंकास्पद रसिद प्रयोग भएको आशंका थप प्रबल बनेपछि शिक्षा तथा खेलकुद मन्त्रालयले गम्भीर कदम अघि बढाउँदै गृह मन्त्रालयलाई औपचारिक रूपमा छानबिन गर्न पत्राचार गरेको छ।

मन्त्रालयले घटनालाई प्रणालीगत कमजोरीसँग जोडेर विस्तृत अनुसन्धान र कानूनी कारबाही आवश्यक रहेको जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंस्थित वाल्मीकि विद्यापीठको नाममा आएको ‘एकेडेमिक अध्ययन भिषा सिफारिस’ सम्बन्धी पत्रका आधारमा प्रारम्भिक प्रक्रिया अघि बढाइएको थियो।

तर, पछि गरिएको स्थलगत अनुगमनले भर्ना विवरण, अध्ययन उपस्थिति र पेस गरिएका कागजातबीच स्पष्ट असंगति देखिएको मन्त्रालयले जनाएको छ।

अनुगमन टोलीले सम्बन्धित विद्यार्थी संस्थामा अध्ययनरत रहेको प्रमाणित गर्न नसकेको बताइएको छ।

त्यस्तै पेस गरिएका केही रसिद तथा कागजातहरूको प्रामाणिकतामाथि गम्भीर शंका उत्पन्न भएपछि ती सामग्री नक्कली प्रकृतिका हुन सक्ने निष्कर्षमा मन्त्रालय पुगेको हो।

सोही प्रकरणसँग सम्बन्धित अर्को सिफारिस पत्र पनि नक्कली भएको प्रारम्भिक निष्कर्ष निकालिँदै सम्बन्धित अध्ययन भिषा सिफारिस प्रक्रिया नै खारेज गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्रमा घटनामा संलग्न सबै पक्षको सूक्ष्म अनुसन्धान गरी प्रचलित कानुनअनुसार कडा कारबाही अघि बढाउन आग्रह गरिएको छ।

साथै अध्ययन भिसा सिफारिस प्रणालीमा देखिएका कमजोरी सुधार्न संस्थागत समन्वय र कडाइ आवश्यक रहेको पनि औँल्याइएको छ।

नेपालमा विदेशी विद्यार्थीका लागि अध्ययन भिषा सिफारिस गर्दा शैक्षिक संस्थाबाट प्रमाणित भर्ना, शुल्क भुक्तानी र अध्ययन विवरणका आधारमा प्रक्रिया अघि बढाइने व्यवस्था रहेपनि पछिल्ला घटनाले कागजात प्रमाणीकरण प्रणाली अझ सुदृढ बनाउनुपर्ने आवश्यकता देखाएको सरोकारवालाहरूले बताएका छन्।

मन्त्रालयले यस प्रकरणलाई अध्ययन भिषा प्रणालीको विश्वसनीयतामाथि उठेको गम्भीर प्रश्नका रूपमा लिँदै छानबिनको निष्कर्षपछि आवश्यक प्रशासनिक तथा कानूनी निर्णय लिइने जनाएको छ।

Untitled
Untitled
Untitled