काठमाण्डू, साउन महिनाको दोस्रो सोमबार आज बिहानैदेखि भगवान् शिवको आराधनाका लागि पशुपतिनाथ मन्दिरसहित देशभरका प्रमुख शिवालयमा श्रद्धालु भक्तजनको उल्लेखनीय भीड लागेको छ।
साउने सोमबारको धार्मिक महत्त्वका कारण वर्षाको पर्वाह नगरी भक्तजनहरू बिहान सबेरैदेखि मन्दिर पुगेका छन्।
पशुपति क्षेत्र विकास कोषका अनुसार आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारैवटा ढोका दर्शनार्थीका लागि खोलिएको थियो।
कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले साउने झरीका बीच पनि भक्तजनको उत्साहमा कुनै कमी नआएको बताइन्।
उनका अनुसार पहिलो सोमबारको अनुभवका आधारमा यसपटक दर्शन व्यवस्थापनलाई थप सहज र व्यवस्थित बनाइएको छ।
भक्तजनलाई सहज रूपमा दर्शन गराउने उद्देश्यले मन्दिर प्रवेशका लागि चारवटा छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ।
विशेष पूजा बिहान ८ः३० बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन हुनेछ भने मन्दिरका ढोका साँझ आरती सम्पन्न भएपछि राति ८ बजेसम्म खुला रहनेछन्।
दर्शन व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी, मन्दिर पहरा गण तथा विभिन्न धार्मिक एवं सामाजिक संघसंस्थाका स्वयंसेवक परिचालन गरिएको छ।
श्रद्धालुका लागि प्राथमिक उपचार, खानेपानी, सुरक्षा तथा अन्य आवश्यक सेवाको पनि विशेष व्यवस्था गरिएको कोषले जनाएको छ।
कोषका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार लाखौँ भक्तजनलाई सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन तथा पूजाआराधना गराउन आवश्यक सबै तयारी पूरा गरिएको छ।
बिहानैदेखि दर्शनार्थीको चाप बढे पनि लामो समय कुर्नुपर्ने अवस्था नरहेको उनले बताए।
पशुपतिनाथसँगै काठमाडौं उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, मक्खन महादेवलगायत प्रमुख शिव मन्दिरमा पनि बिहानदेखि श्रद्धालुको भीड लागेको छ।
यस्तै, देशभरका शिवालयमा भक्तजनले व्रत, जलाभिषेक, पूजाआजा र दर्शन गरी साउने सोमबार श्रद्धापूर्वक मनाइरहेका छन्।
हिन्दू धर्मावलम्बीका लागि साउन महिनाको सोमबार भगवान् शिवको विशेष आराधनाको दिन मानिन्छ।
यस दिन व्रत बस्ने, शिवलिङ्गमा जल, दूध, बेलपत्र र धतुरो अर्पण गर्ने तथा शिवपूजा गर्ने परम्परा रहँदै आएको छ।
यसले मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ।



































