काठमाण्डू, नेपालको सौन्दर्य शिक्षा क्षेत्रमा नयाँ इतिहास रच्दै पहिलो पटक अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिडेस्को ९ऋक्ष्म्भ्क्ऋइ० मेकअप र ब्यूटी डिप्लोमा परीक्षा नेपालमै आयोजना गरिएको छ।
विश्वका ४० भन्दा बढी देशमा मान्यता प्राप्त यस परीक्षाले नेपाली विद्यार्थीलाई अब विदेश नगई आफ्नै देशबाट अन्तर्राष्ट्रिय स्तरको योग्यता हासिल गर्ने अवसर दिएको छ।
यस वर्षको परीक्षामा मेकअपतर्फ ८ जना र ब्युटीतर्फ ९ जना गरी १७ जना विद्यार्थी सहभागी भएका छन्।
ब्यूटी विधाअन्तर्गत विशेषगरी स्किन केयर र बडी केयर सम्बन्धी मूल्यांकन भइरहेको छ।
शनिबार सैद्धान्तिक परीक्षा सम्पन्न भएको छ भने साउन ११ गते ब्युटी र साउन १२ गते मेकअप विषयको प्रयोगात्मक परीक्षा सञ्चालन हुनेछ।
त्यसपछि साउन १२ गते काठमाडौंस्थित द एभरेस्ट होटलमा दीक्षान्त समारोह आयोजना गरिने कार्यक्रम छ।
अन्तर्राष्ट्रिय परीक्षकको प्रत्यक्ष मूल्यांकन
परीक्षाको विश्वसनीयता सुनिश्चित गर्न विभिन्न देशबाट आएका अन्तर्राष्ट्रिय परीक्षकहरूले लिखित र प्रयोगात्मक दुवै परीक्षाको प्रत्यक्ष मूल्यांकन गरिरहेका छन्।
आयोजकका अनुसार सम्पूर्ण परीक्षा सिडेस्कोले तोकेको अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन भइरहेको छ।
अब विदेश जानुपर्ने बाध्यता हट्ने
यसअघि नेपाली विद्यार्थीले सिडेस्को डिप्लोमा प्राप्त गर्न विदेश जानुपर्ने अवस्था थियो।
नेपालमै परीक्षा सञ्चालन हुन थालेपछि समय र खर्च दुवै बचत हुने मात्र होइन, विश्वभर मान्यता प्राप्त प्रमाणपत्र आफ्नै देशबाट प्राप्त गर्न सकिने भएको छ।
स्वतन्त्र अन्तर्राष्ट्रिय मूल्यांकन प्रणाली
बजारमा धेरै संस्थाले आफ्नै परीक्षा सञ्चालन गरी आफैं प्रमाणपत्र दिने अभ्यास रहेपनि सिडेस्को डिप्लोमा स्वतन्त्र अन्तर्राष्ट्रिय मूल्यांकन प्रणालीमा आधारित भएकाले यसको विश्वव्यापी विश्वसनीयता र मान्यता उच्च रहेको मानिन्छ।
‘नेपालको सौन्दर्य शिक्षा अन्तर्राष्ट्रियकरणतर्फको ऐतिहासिक यात्रा’
आइसास ब्यूटी स्कूलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय अधिकारीले नेपालमा पहिलो पटक सिडेस्को परीक्षा आयोजना हुनु देशको सौन्दर्य शिक्षा क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताए।
उनले भने, “यो केवल एउटा परीक्षा होइन, नेपाली सौन्दर्य शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने महत्वपूर्ण कदम हो।
अब नेपाली विद्यार्थीले विदेश नगई विश्वभर मान्यता प्राप्त डिप्लोमा आफ्नै देशबाट हासिल गर्न सक्नेछन्।”
कडा मापदण्ड पूरा गरेपछि मात्रै मान्यता
सिडेस्कोको मान्यता प्राप्त गर्न कुनै पनि संस्थाले अन्तर्राष्ट्रिय स्तरका पूर्वाधार, प्रशिक्षक, पाठ्यक्रम र सञ्चालन प्रणालीसम्बन्धी कडा मापदण्ड पूरा गर्नुपर्ने हुन्छ।
नेपालमा यस्ता मापदण्ड पूरा गरी सिडेस्को परीक्षा सञ्चालन गर्ने आधिकारिक संस्थाका रूपमा आइसास ब्यूटी स्कूलले काम गरिरहेको जनाएको छ।
विश्वकै प्रतिष्ठित सौन्दर्य शिक्षा संस्था
विश्वव्यापी रूपमा सौन्दर्य शिक्षा तथा व्यावसायिक योग्यताको उच्च मापदण्ड निर्धारण गर्ने संस्था सिडेस्कोले यस वर्ष आफ्नो स्थापनाको ८० वर्ष पूरा गरेको छ।
यस अवसरमा फिजीमा विश्वभरका मान्यता प्राप्त विद्यालयहरूको सहभागितामा विशेष सिडेस्को कंग्रेस आयोजना हुँदैछ।
हाल सिडेस्कोको पाठ्यक्रम, प्रशिक्षण र मूल्यांकन प्रणालीलाई विश्वका ४० भन्दा बढी देशमा उच्चस्तरीय व्यावसायिक योग्यताको मापदण्डका रूपमा स्वीकार गरिएको छ।
७० प्रतिशतभन्दा कम अंक आए अनुत्तीर्ण
सिडेस्को डिप्लोमा प्राप्त गर्न परीक्षार्थीले सैद्धान्तिक र प्रयोगात्मक दुवै परीक्षामा न्यूनतम ७० प्रतिशत अंक अनिवार्य रूपमा प्राप्त गर्नुपर्ने व्यवस्था छ।
६९ प्रतिशत अंक प्राप्त गरेपनि अनुत्तीर्ण मानिने भएकाले यसको मूल्यांकन प्रणाली विश्वकै सबैभन्दा कडा र गुणस्तरीयमध्ये एक मानिन्छ।
नेपालमा पहिलो पटक यस्तो परीक्षा आयोजना हुनु सौन्दर्य तथा वेलनेस शिक्षालाई अन्तर्राष्ट्रिय स्तरसँग जोड्ने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
यसले नेपाली जनशक्तिलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन थप सहयोग पुग्ने विश्वास गरिएको छ।
































