२०८३ साउन १० आइतवार | Sunday, Jul 26 2026

अविरल वर्षाले देशभर सडक संकट: १० राजमार्ग पूर्ण अवरुद्ध, बीपीमा राति सवारी रोक

Untitled
Untitled
Untitled

काठमाण्डू, लगातारको वर्षासँगै आएको पहिरो, सडक कटान र बाढीको जोखिमका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड शुक्रबार पनि प्रभावित बनेका छन्।

नेपाल प्रहरीले बिहान ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै देशभर १० वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ।

प्रहरीका अनुसार काभ्रे र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिम उच्च रहेकाले हरेक दिन बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

यो सडकखण्डमा लामो समयदेखि रातिको समयमा गाडी सञ्चालन बन्द राखिँदै आएको छ।

पूर्ण रूपमा बन्द सडकखण्ड

प्रहरीका अनुसार निम्न सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प छः

लाम – मेची राजमार्ग

मकवानपुर – कान्ति लोकपथ

सिन्धुपाल्चोक – अरनिको राजमार्ग

दोलखा – लामासाँघु–रामेछाप सडक

रसुवा – त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक

मुस्ताङ – जोमसोम–कोरला सडक

अर्घाखाँची – सन्धिखर्क–गोरुसिंहे सडक

रुकुम पश्चिम – भेरी करिडोर सडक

यी सडकखण्डमा पहिरो हटाउने, कटान नियन्त्रण गर्ने तथा वैकल्पिक मार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

एकतर्फी रूपमा सञ्चालन भएका सडक

यस्तै, केही महत्त्वपूर्ण सडकखण्डमा आंशिक रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ।

बागलुङ – कालीगण्डकी करिडोर

भोजपुर – मध्यपहाडी लोकमार्ग

खोटाङ – मध्यपहाडी लोकमार्ग

यी क्षेत्रमा बाढी र पहिरोका कारण सडक साँघुरिएको तथा जोखिमपूर्ण बनेकाले एकतर्फी रूपमा मात्र गाडी सञ्चालन भइरहेको छ।

यात्रुहरूलाई उच्च सतर्कता

मनसुन अझै सक्रिय रहेकाले थप पहिरो, बाढी र सडक कटानको जोखिम कायम रहेको प्रहरीले जनाएको छ।

विशेषगरी पहाडी जिल्लामा लगातार वर्षा भइरहेकाले सडकको अवस्था छोटो समयमै परिवर्तन हुन सक्ने चेतावनी दिइएको छ।

प्रहरीले अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न, यात्रा गर्नुअघि सम्बन्धित जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी वा सडक विभागबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

मनसुनी विपद्का कारण देशका प्रमुख राजमार्ग प्रभावित भइरहेकाले राजधानी–तराई, पहाड–हिमाल तथा उत्तरी नाकासम्मको यातायात प्रणालीमा व्यापक असर परेको छ।

विशेषगरी बीपी राजमार्ग, अरनिको राजमार्ग र कान्ति लोकपथ प्रभावित हुँदा वैकल्पिक मार्गमा सवारी चाप बढेको छ।

 

Untitled
Untitled
Untitled