काठमाण्डू, मनसुनी वर्षासँगै देशभर प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटना बढ्दै गएका छन्।
पछिल्लो २४ घण्टामा मात्रै २४ जिल्लामा २९ वटा विपद्का घटना हुँदा ६ जनाले ज्यान गुमाएका छन् भने १३ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सर्पदंश, पहिरो र ग्यास विस्फोट पछिल्लो दिन सबैभन्दा बढी मानवीय क्षति गराउने घटना बनेका छन्।
साउन ८ गते बिहान १० बजेदेखि साउन ९ गते बिहान १० बजेसम्मको अवधिमा सर्पदंशबाट चार जना, पहिरोबाट एक जना र ग्यास विस्फोटबाट एक जनाको मृत्यु भएको हो।
घटनापछि उद्धार तथा व्यवस्थापनका लागि नेपाल प्रहरीले देशभर १२८ जना जनशक्ति परिचालन गरेको छ।
सर्पदंश मुख्य चुनौती बन्दै
प्राधिकरणको विवरणअनुसार पछिल्लो २४ घण्टामा सात जिल्लामा सर्पदंशका ११ वटा घटना भएका छन्।
ती घटनामा चार जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्।
प्रभावित क्षेत्रमा उद्धार तथा आवश्यक सहयोगका लागि ४५ जना प्रहरी परिचालन गरिएको छ।
मनसुन सक्रिय भएसँगै तराई र भित्री मधेशका जिल्लामा सर्पदंशका घटना उल्लेखनीय रूपमा बढ्न थालेका छन्।
स्वास्थ्यकर्मीहरूले सर्पले टोकेपछि घरेलु उपचार वा झाँक्रीको भर नपरी तत्काल स्वास्थ्य संस्थामा पुग्न आग्रह गरेका छन्।
पहिरोले सडक र जनजीवन प्रभावित
सात जिल्लामा आठ वटा पहिरोका घटना भएका छन्। पहिरोमा एक जनाले ज्यान गुमाएका छन् भने तीन जना घाइते भएका छन्।
एक जनाको सकुशल उद्धार गरिएको छ। पहिरो हटाउने र सडक सञ्चालनमा ल्याउने कार्यका लागि ३७ जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
अविरल वर्षाका कारण विभिन्न सडकखण्डमा यातायात अवरुद्ध हुँदा यात्रुहरूलाई सास्ती भएको छ भने केही स्थानमा सडक पुनः सञ्चालनका लागि प्रयास भइरहेको छ।
ग्यास विस्फोट, आगलागी र अन्य विपद्
पछिल्लो २४ घण्टामा ग्यास विस्फोटको एक घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका छन्।
घटनास्थलमा सात जना प्रहरी परिचालन गरिएको थियो। चार जिल्लामा आगलागीका चार वटा घटना भए पनि मानवीय क्षति भने हुन पाएन।
आगलागी नियन्त्रणका लागि २० जना प्रहरी खटिएका थिए। यसैबीच बाढीको एक र अविरल वर्षाका दुई वटा घटनाले सडक अवरुद्ध र भौतिक क्षति पुर्याएको छ।
लेक लाग्ने एक घटनामा एक जना र जंगली जनावरको आक्रमणमा अर्को एक जना घाइते भएका छन्।
सडक अवरुद्ध, आर्थिक क्षति पनि
विपद्का घटनाका कारण देशभर छ वटा प्रमुख सडकमार्ग प्रभावित भएका छन्। साथै नौ वटा पशुचौपायाको मृत्यु भएको छ।
प्रारम्भिक अनुमानअनुसार करिब रु ६ लाख ५० हजार बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ।
चार महिनामै १८३ जनाको मृत्यु
वैशाख १ गतेदेखि साउन ९ गतेसम्मको अवधिमा देशभर ३ हजार ७४० वटा विपद्का घटना दर्ता भएका छन्। ती घटनामा १८३ जनाले ज्यान गुमाएका छन् भने तीन जना अझै बेपत्ता छन्।
यस अवधिमा १ हजार ७६ जना घाइते भएका छन् भने ४ हजार ८०८ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
कुन विपद्ले सबैभन्दा बढी क्षति गरिरहेको छ ?
प्राधिकरणको तथ्याङ्कले सर्पदंशलाई यस वर्षको सबैभन्दा घातक विपद्का रूपमा देखाएको छ। हालसम्म ६०७ वटा सर्पदंशका घटनामा ५२ जनाको मृत्यु र ५५९ जना घाइते भएका छन्।
त्यसपछि चट्याङका २३० घटनामा २५ जनाको मृत्यु, आगलागीका ९६२ घटनामा १८ जनाको मृत्यु, पहिरोका ६०३ घटनामा १४ जनाको मृत्यु, बाढीका १८८ घटनामा १३ जनाको मृत्यु तथा हावाहुरीका ४७९ घटनामा १३ जनाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ।
जोखिम न्यूनीकरणमा जोड
प्राधिकरणले विशेषगरी वर्षायाममा सर्पदंश, बाढी र पहिरोको जोखिम उच्च रहने भएकाले नागरिकलाई अतिरिक्त सतर्कता अपनाउन आग्रह गरेको छ।
रातिको समयमा टर्च प्रयोग गर्ने, घर–आँगन सफा राख्ने, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्ने तथा यात्रा गर्नुअघि सडक र मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न सुझाव दिइएको छ।
विपद्को घटना भएमा वा जोखिमको अवस्था देखिएमा तत्काल प्रहरी, स्थानीय प्रशासन वा सम्बन्धित उद्धार निकायलाई जानकारी गराउन पनि प्राधिकरणले सबै नागरिकसँग अपिल गरेको छ।



































