काठमाण्डू, बजारमा खाना पकाउने एलपीजी ग्यासको अभाव नरहेको भन्दै सरकारले उपभोक्तालाई ढुक्क हुन आग्रह गरेको छ।
पछिल्ला केही दिनयता ग्यास अभाव भएको भन्ने गुनासो बढ्न थालेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आपूर्ति प्रणाली नियमित रहेको स्पष्ट पारेकी हुन्।
मन्त्री यादवले मन्त्रालयले ग्यासको मौज्दात, आयात र वितरण अवस्थाको निरन्तर अनुगमन गरिरहेको बताउँदै बजारमा कृत्रिम अभावको हल्लामा नपर्न उपभोक्तालाई अनुरोध गरिन्।
उनका अनुसार आवश्यक परिमाणमा ग्यास उपलब्ध रहेकाले आत्तिएर एकैपटक धेरै सिलिन्डर खरिद वा सञ्चय गर्नुपर्ने अवस्था छैन।
मन्त्रालयले हाल देखिएको वितरण व्यवस्थापनको अवस्थालाई सहज बनाउन सर्वसाधारणलाई तत्काल आवश्यक पर्ने मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ।
अनावश्यक रूपमा ग्यास भण्डारण गर्दा वितरण प्रणालीमा दबाब पर्ने र कृत्रिम अभाव सिर्जना हुन सक्ने भएकाले संयमता अपनाउन पनि आग्रह गरिएको छ।
बजारमा आपूर्ति व्यवस्थालाई थप प्रभावकारी बनाउन मन्त्री यादवले नेपाल आयल निगमलाई आवश्यक निर्देशन दिएकी छन्।
निगमलाई ग्यासको वितरण प्रणाली व्यवस्थित गर्न, बजार अनुगमन तीव्र बनाउन र उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण सुनिश्चित गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
सरकारले एलपीजी ग्यासको नियमित आपूर्ति कायम राख्न सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाउँदै उपभोक्तालाई अफवाहभन्दा आधिकारिक सूचनामा विश्वास गर्न आग्रह गरेको छ।


































