२०८३ साउन १२ मंगलवार | Tuesday, Jul 28 2026

नारायणी अस्पताल घटनाको विरोधमा आज देशभर आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द

Untitled
Untitled
Untitled

काठमाण्डू, वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ।

संघको आह्वानसँगै सरकारी, निजी तथा गैरसरकारी अस्पतालमा ओपीडीसहित नियमित स्वास्थ्य सेवा प्रभावित हुने भएको छ।

नेपाल चिकित्सक संघले सोमबार जारी गरेको विज्ञप्तिमा आकस्मिक सेवा भने पूर्ववत् सञ्चालन हुने, तर अन्य सबै नियमित सेवा स्थगित रहने जनाएको छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति र दोषीमाथि कडा कारबाहीको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरिएको संघले उल्लेख गरेको छ।

संघका अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित अन्य चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो।

घटनामा डा. रामको टाउकोमा गम्भीर चोट लागेको तथा अस्पतालमा तोडफोडसमेत भएको दाबी गरिएको छ।

घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा छलफल भइरहेका बेला प्रमुख जिल्ला अधिकारीको उपस्थितिमै प्रहरीबाट बल प्रयोग भएको आरोप पनि संघले लगाएको छ।

त्यस क्रममा संघका केन्द्रीय सदस्य, नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकमाथि गालीगलौज र दुर्व्यवहार भएको संघको भनाइ छ।

यही घटनालाई चिकित्सकको पेशागत सुरक्षा र सम्मानसँग जोडिएको गम्भीर विषयका रूपमा लिँदै संघले देशव्यापी रूपमा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ।

नेपाल चिकित्सक संघले स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने हिंसात्मक घटनाको अन्त्य, दोषीलाई कानूनी कारबाही र स्वास्थ्यकर्मीको सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न सरकारसँग पुनः माग गरेको छ।

Untitled
Untitled
Untitled