इनरुवा, सुनसरीको देवानगञ्ज क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार बिहान ६ः१५ बजेदेखि कर्फ्यु आदेश फुकुवा गरिएको जानकारी दिएको हो।
दुई पक्षबीचको झडपपछि उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले साउन ११ गते रातिदेखि देवानगञ्ज गाउँपालिकाका संवेदनशील क्षेत्रमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरेको थियो।
कर्फ्यु अवधिभर प्रभावित क्षेत्रमा सर्वसाधारणको आवतजावत पूर्ण रूपमा रोकिएको थियो।
साथै कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना गर्न निषेध गरिएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार हाल क्षेत्रको सुरक्षा अवस्था सुधारोन्मुख रहेकाले कर्फ्यु हटाउने निर्णय गरिएको हो।
यद्यपि सम्भावित अप्रिय घटना हुन नदिन सुरक्षा निकायले निरन्तर निगरानी गरिरहेको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनामा शान्ति–सुरक्षा कायम राख्न सबै पक्षलाई संयमित, जिम्मेवार र कानूनको पालना गर्दै सामाजिक सद्भाव कायम राख्न आग्रह गरिएको छ।
गत शनिबार राति देवानगञ्ज–३ कप्तानगञ्जमा दुई पक्षबीच भएको झडप उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने प्रहरीसहित अन्य केही व्यक्ति घाइते भएका थिए।
त्यस घटनापछि सम्भावित थप तनाव रोक्न प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश लागू गरेको थियो।



































