२०८३ साउन १२ मंगलवार | Tuesday, Jul 28 2026

आज पनि मनसुनको प्रभाव कायम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, पहिरो र बाढीको जोखिम बढ्यो

Untitled
Untitled
Untitled

काठमाण्डू, देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले विशेषगरी पहाडी तथा केही तराई क्षेत्रमा वर्षाको गतिविधि सक्रिय रहने जनाएको छ।

महाशाखाका अनुसार दिउँसो हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि मौसम बदली रहनेछ।

कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा भने आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।

पूर्वानुमानअनुसार हिमाली भू-भागका केही स्थान र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनेछ।

लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा धेरै स्थानमा वर्षा हुने सम्भावना छ भने बागमती, गण्डकी, कोशी र मधेशका केही क्षेत्रमा पनि वर्षा हुन सक्ने देखिएको छ।

मौसमविद्ले लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र, साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिएका छन्।

लगातारको वर्षाले पहिरो, भूक्षय, डुबान तथा साना नदी–खोलामा आकस्मिक बाढी आउने जोखिम बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।

रातिको समयमा पनि वर्षाको क्रम जारी रहने अनुमान गरिएको छ। हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनेछ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा कोशी, मधेश र सुदूरपश्चिमका थोरै स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

राति विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

मौसमविद्ले वर्षासँगै चट्याङ, पहिरो, सडक अवरोध, नदी–खोलाको जलसतह वृद्धि तथा आकस्मिक बाढीको जोखिम रहने भएकाले यात्रा गर्दा मौसम र सडकको अवस्था बुझेर मात्र अघि बढ्न, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनालाई पालना गर्न सबै नागरिकलाई अनुरोध गरेका छन्।

Untitled
Untitled
Untitled