२०८३ साउन ४ सोमवार | Monday, Jul 20 2026

देशभर मनसुन थप सक्रिय, आज अधिकांश क्षेत्रमा वर्षा, केही प्रदेशमा भारीदेखि अति भारी वर्षाको चेतावनी

Untitled
Untitled
Untitled

काठमाण्डू, देशभर मनसुनी प्रणाली थप सक्रिय बनेसँगै आज पनि अधिकांश क्षेत्रमा वर्षाको क्रम जारी रहने भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा केही उत्तरतर्फ तराई क्षेत्र नजिक तथा पूर्वी नेपालमा सरदर स्थानकै आसपास रहेकाले देशभर वर्षाको प्रभाव कायम रहनेछ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो हिमाल, पहाड र तराईका अधिकांश क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

उच्च हिमाली भेगमा वर्षासँगै हिमपात हुन सक्ने भएकाले ती क्षेत्रमा यात्रा गर्ने तथा पर्वतारोहणमा जानेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

विशेषगरी कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।

यस्तै, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुन सक्ने चेतावनी महाशाखाले दिएको छ।

रातिको समयमा पनि मौसममा सुधार आउने सम्भावना नरहेको महाशाखाको भनाइ छ।

देशभर सामान्यदेखि पूर्ण बदली कायम रहनेछ भने हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपात हुन सक्ने अनुमान गरिएको छ।

कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका अधिकांश स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ।

मधेश र बागमती प्रदेशका पहाडी तथा तराईका एक/दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेकाले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

यता, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि निरन्तर वर्षाका कारण नदी–खोलामा पानीको सतह बढ्ने, आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा नदी कटानको जोखिम उल्लेख्य रूपमा बढ्न सक्ने जनाएको छ।

जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिक, सडक यात्रु तथा नदी किनार आसपास रहने सर्वसाधारणलाई मौसमको अद्यावधिक जानकारी पछ्याउँदै आवश्यक सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ।

Untitled
Untitled
Untitled