काठमाण्डू, लगातार सक्रिय मनसुनी प्रणालीका कारण देशका विभिन्न क्षेत्रमा अतिभारी वर्षा हुने सम्भावना बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २३ जिल्लामा रात्रिकालीन सवारी आवागमन नियन्त्रण गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ।
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको शुक्रबार बसेको बैठकले जोखिमको अवस्था मूल्याङ्कन गर्दै आवश्यक परे जुनसुकै बेला रातिको समयमा सवारी सञ्चालन रोक्न सकिने निर्णय गरेको हो।
अन्य जिल्लाहरूमा पनि मौसमको अवस्थाअनुसार उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको प्राधिकरणले जनाएको छ।
आज र भोलि अतिभारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमानअनुसार आज र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अतिभारी वर्षा हुन सक्ने सम्भावना छ।
यस्तै देशका हिमाली तथा पहाडी भू-भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।
यी २३ जिल्ला उच्च जोखिममा
प्राधिकरणले पूर्वानुमानका आधारमा पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लालाई उच्च जोखिमयुक्त सूचीमा राखेको छ।
ती जिल्लाका जिल्ला सुरक्षा समिति, स्थानीय तह र सम्बन्धित निकायलाई उद्धार तथा प्रतिकार्यका सम्पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
बाढी, पहिरो र डुबानको उच्च जोखिम
प्राधिकरणले निरन्तर वर्षासँगै आकस्मिक बाढी, पहिरो, नदी कटान, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम उल्लेखनीय रूपमा बढ्न सक्ने जनाएको छ।
यसलाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय सरकार, स्वयंसेवक र अन्य सरोकारवाला निकायलाई उद्धार तथा राहत कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ।
जोखिमयुक्त सडकमा उपकरण तयारी अवस्थामा राख्न निर्देशन
संभावित पहिरो र सडक अवरोधलाई छिटो हटाउन सडक विभाग तथा सम्बन्धित निकायलाई डोजर, एक्साभेटर, लोडरलगायत भारी उपकरण जोखिमयुक्त राजमार्ग र सडक क्षेत्रमा तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।
त्यस्तै, मौसमको पूर्वसूचना र चेतावनीका आधारमा जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यक परे पहिले नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई आग्रह गरिएको छ।
सबै निकायलाई तयारी अवस्थामा रहन आग्रह
प्राधिकरणले विपद् पूर्वतयारी तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन विकास साझेदार संस्था, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र तथा सर्वसाधारणबीच समन्वय बढाउन आह्वान गरेको छ।
साथै, आपत्कालीन राहत सामग्री राखिएका गोदामहरू आवश्यक परे तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
मनसुन अझै सक्रिय रहने पूर्वानुमान रहेकाले प्राधिकरणले नागरिकलाई मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन, अनावश्यक यात्रा नगर्न तथा नदी किनार, पहिरोको जोखिम भएका क्षेत्र र कमजोर सडकमार्गमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।



































