काठमाण्डू, विश्वकप यात्रालाई बलियो बनाउने लक्ष्यसहित नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय सिरिजको पहिलो खेलमा नामिबियासँग भिड्दैछ।
नेदरल्यान्ड्समा हुने यस प्रतिस्पर्धा नेपालका लागि अंक मात्र होइन, विश्वकप ग्लोबल क्वालिफायरको सम्भावना जोगाउने महत्वपूर्ण अवसर पनि हो।
आयोजक नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी सिरिजमा नेपाली टोलीको ध्यान जितको लयलाई निरन्तरता दिँदै शीर्ष चारको दौडलाई थप बलियो बनाउनेतर्फ केन्द्रित हुनेछ।
नेपालले गत जेठमा कीर्तिपुरमा सम्पन्न लिग–२ सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै आठमध्ये ६ खेल जितेको थियो।
ओमान, यूएई, अमेरिका र स्कटल्यान्डजस्ता बलिया टोलीविरुद्धको सफल प्रदर्शनले नेपाललाई सातौँ स्थानबाट पाँचौँ स्थानमा उकासेको थियो।
अब विदेशी भूमिमा पनि त्यही आत्मविश्वास दोहोर्याउने अपेक्षा गरिएको छ।
नेपालले नामिबियाविरुद्धको पहिलो खेलपछि साउन ७ गते नेदरल्यान्ड्ससँग, साउन ११ गते पुनः नामिबियासँग र साउन १३ गते आयोजक नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
हाल नेपाल २८ खेलबाट २४ अंकसहित पाँचौँ स्थानमा छ। नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो, ओमान ३१ अंकसहित चौथो र नामिबिया २२ अंकसहित सातौँ स्थानमा छन्।
शीर्ष स्थानमा अमेरिका ४३ अंक र दोस्रो स्थानमा स्कटल्यान्ड ३८ अंकका साथ रहेका छन्।
क्यानडाको पनि २४ अंक भए पनि नेट रनरेटका आधारमा नेपाल अगाडि छ भने यूएई १४ अंकसहित तालिकाको पुछारमा छ।
लिग–२ को यो चक्रमा प्रत्येक टोलीले ३६ खेल खेल्नेछ। नेपालले अझै आठ खेल खेल्न बाँकी रहेकाले शीर्ष चारमा पुग्न बाँकी खेलहरूमा उत्कृष्ट नतिजा निकाल्नुपर्ने दबाब छ।
यद्यपि शीर्ष ६ भित्र रहन सके नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता भने सुरक्षित राख्नेछ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, आरिफ सेख, सोमपाल कामी, करण केसी, गुल्सन झा, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल, विनोद भण्डारी, इशान पाण्डे र नन्दन यादव रहेका छन्।
विश्वकप छनोटको दौडलाई जीवन्त राख्न नेपालका लागि नामिबियाविरुद्धको पहिलो खेललाई गर या मरको सुरुआतका रूपमा हेरिएको छ।
जितसहित सिरिजको सुरुआत गर्न सके नेपालले शीर्ष चारको प्रतिस्पर्धामा थप दबाब सिर्जना गर्नेछ।



































