२०८३ असार २८ आइतवार | Sunday, Jul 12 2026

परिवर्तनको मोडमा नेपाली चलचित्र : मौलिक कथाले सिर्जना गर्‍यो नयाँ सम्भावना

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली चलचित्र उद्योग पछिल्ला केही वर्षयता विषयवस्तु, निर्माण शैली र दर्शकीय रुचिका दृष्टिले उल्लेखनीय परिवर्तनको चरणमा पुगेको छ।

कुनै समय सीमित कथावस्तु र परम्परागत शैलीमा केन्द्रित चलचित्र निर्माण अहिले नेपाली समाज, संस्कृति, इतिहास, जनजीवन र समकालीन यथार्थलाई केन्द्रमा राख्दै मौलिक कथाको खोजीतर्फ अग्रसर देखिएको छ।

चलचित्रकर्मीहरूका अनुसार दर्शकको सोच र अपेक्षामा आएको परिवर्तनले उद्योगलाई नयाँ दिशातर्फ डोर्‍याएको छ।

विगतमा राजनीतिक घटनाक्रम वा अत्यधिक भावनात्मक कथामा आधारित चलचित्रले बजारमा प्रभुत्व जमाउने गरेका थिए।

तर, अहिले दर्शकले आफ्नै समाजका कथा, आफ्नै परिवेश र जीवनका अनुभूतिलाई पर्दामा हेर्न रुचाउन थालेका छन्।

यही परिवर्तनले चलचित्र निर्माणको शैली मात्र होइन, विषय छनोट र प्रस्तुतीकरणमा पनि नयाँ अभ्यासको सुरुआत गरेको छ।

पछिल्ला केही वर्षमा प्रदर्शन भएका चलचित्रहरूको सफलताले नेपालीपन झल्किने कथा, स्थानीय संस्कृति, सामाजिक यथार्थ र मौलिक विषयवस्तुप्रति दर्शकको आकर्षण बढ्दै गएको संकेत गरेको छ।

यसले नेपाली चलचित्रलाई मनोरञ्जनको माध्यमसँगै सामाजिक अभिव्यक्ति र सांस्कृतिक पहिचानको संवाहकका रूपमा स्थापित गर्ने आधार बलियो बन्दै गएको देखिन्छ।

वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालले नेपाली चलचित्रले आफ्नो मौलिक चरित्रलाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार चलचित्र केवल मनोरञ्जनको साधन नभई भाषा, संस्कृति, परम्परा र राष्ट्रिय पहिचानलाई पुस्तान्तरण गर्ने प्रभावकारी माध्यम पनि हो।

उनले नेपाली समाज र संस्कृतिलाई प्रतिबिम्बित गर्ने चलचित्रले दीर्घकालसम्म दर्शकको मनमा स्थान बनाउन सक्ने उल्लेख गर्दै चलचित्र क्षेत्रको संस्थागत विकासका लागि राज्यबाट नीतिगत, संरचनागत तथा आर्थिक सहयोग आवश्यक रहेको बताए ।

कलाकार दीपकराज गिरीले गुणस्तरीय कथा, प्रभावकारी प्रस्तुति र स्वस्थ मनोरञ्जन प्रदान गर्न सक्ने चलचित्रले मात्र दर्शकको विश्वास जित्न सक्ने धारणा राखे ।

चलचित्र सफल वा असफल हुने अन्तिम निर्णय दर्शकबाटै हुने भएकाले निर्माणका प्रत्येक चरणमा गुणस्तरलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

उनका अनुसार मौलिक कथावस्तु, व्यावसायिक सोच, आधुनिक प्रविधि र दर्शकको बदलिँदो रुचिबीच उचित सन्तुलन कायम गर्न सके नेपाली चलचित्र उद्योगले दिगो विकासको आधार तयार गर्न सक्छ।

पछिल्ला तीन दशकमा उद्योगको व्यावसायिक विस्तार उल्लेखनीय रूपमा भएको उल्लेख गर्दै उनले त्यसको मूल्याङ्कन पनि समयअनुकूल हुनुपर्ने धारणा व्यक्त गरे ।

निर्देशक ज्ञानेन्द्र देउजाले नेपाली चलचित्र उद्योग अहिले रोजगारी सिर्जना गर्ने महत्वपूर्ण क्षेत्रका रूपमा स्थापित हुँदै गएको बताए ।

उनका अनुसार अहिले वार्षिक रूपमा करिब एक सय चलचित्र निर्माण भइरहेका छन्, जसले कलाकार, प्राविधिक तथा अन्य जनशक्तिका लागि रोजगारीको अवसर विस्तार गरेको छ।

चलचित्र क्षेत्रमा प्रवेश गर्दा यसलाई स्थायी पेसाका रूपमा लिने वातावरण नरहेको स्मरण गर्दै उनले अहिले चलचित्र उद्योग क्रमशः व्यावसायिक बन्दै गएको र नयाँ पुस्ताका सर्जकका लागि सम्भावनाको क्षेत्र बनेको बताए ।

नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले पनि नेपाली चलचित्रको प्रवृत्तिमा गुणात्मक परिवर्तन आएको उल्लेख गरे ।

विश्वकप फुटबलजस्ता अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण केही समय दर्शकको उपस्थिति प्रभावित भएपनि गुणस्तरीय चलचित्रले दर्शकको साथ पाउँदै आएको उनको भनाइ छ।

उनका अनुसार डिजिटल प्रविधिको विकासले चलचित्र निर्माण, सम्पादन, ध्वनि, दृश्य प्रभाव तथा प्रदर्शन प्रणालीमा व्यापक सुधार ल्याएको छ।

आधुनिक प्रविधिको प्रयोगले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतिस्पर्धी बनाउन सहयोग पुगेको उनले बताए ।

चलचित्र क्षेत्रका जानकारहरूका अनुसार अहिलेका युवा निर्देशक तथा निर्माण टोलीले ग्रामीण जीवन, वैदेशिक रोजगारी, सामाजिक रूपान्तरण, पारिवारिक सम्बन्ध, महिला सशक्तीकरण, राजनीतिक परिवर्तन तथा समकालीन सामाजिक विषयलाई सिर्जनात्मक ढङ्गले प्रस्तुत गर्न थालेका छन्।

यसले नेपाली चलचित्रको विषयवस्तु अझ व्यापक र जीवन्त बनेको उनीहरूको भनाइ छ।

पछिल्ला वर्षहरूमा नेपाली चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागिता जनाउँदै विभिन्न सम्मान प्राप्त गर्न थालेका छन्।

यसले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार हुने अपेक्षा पनि बढाएको छ।

यद्यपि चलचित्र उद्योगको दिगो विकासका लागि अझै नीतिगत स्पष्टता, लगानीमैत्री वातावरण, आधुनिक पूर्वाधार, प्रभावकारी वितरण प्रणाली तथा अन्तर्राष्ट्रिय बजारसँग जोडिने रणनीतिक पहल आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।

चलचित्रसम्बन्धी कानुनी व्यवस्था तथा प्रोत्साहन कार्यक्रमलाई समयानुकूल परिमार्जन गर्न सके उद्योगको प्रतिस्पर्धात्मक क्षमता अझ सुदृढ बन्ने विश्वास व्यक्त गरिएको छ।

चलचित्र क्षेत्रका विज्ञहरूका अनुसार नेपाली चलचित्र अहिले परम्परागत मनोरञ्जनको सीमाबाट बाहिर निस्केर राष्ट्रिय पहिचान, सांस्कृतिक संरक्षण र सामाजिक चेतनाको माध्यमका रूपमा विकसित हुँदै गएको छ।

मौलिक कथाको बढ्दो प्रयोग, नयाँ पुस्ताको सिर्जनशीलता, आधुनिक प्रविधिको उपयोग र दर्शकको परिष्कृत रुचिले नेपाली चलचित्र उद्योगलाई नयाँ सम्भावनातर्फ उन्मुख गराएको छ।

यी सकारात्मक परिवर्तनलाई दीर्घकालीन नीतिगत सहयोग र व्यवस्थित विकाससँग जोड्न सकिए नेपाली चलचित्रले राष्ट्रिय सीमाभन्दा बाहिर पनि आफ्नो विशिष्ट पहिचान स्थापित गर्ने आधार थप सुदृढ बन्ने विश्वास गरिएको छ।

Untitled
Untitled
Untitled