काठमाण्डू, आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘गौँथली’को ट्रेलर सार्वजनिक गरिएको छ।
निर्माण टिमले सार्वजनिक गरेको ट्रेलरले शिक्षा, विवाह, पारिवारिक सम्बन्ध, अटिजम र ग्रामीण समाजमा महिलाले भोग्ने संघर्षलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ।
करिब ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरमा शिक्षाको सपना बोकेकी एक युवतीले परम्परागत सोच, पारिवारिक दबाब र वैवाहिक जीवनका चुनौतीसँग संघर्ष गर्नुपरेको कथा देखाइएको छ।
ट्रेलरले एकातिर पढाइका लागि युवतीले गरेको अथक संघर्षलाई प्रस्तुत गरेको छ भने अर्कोतर्फ विवाहपछि उनको जीवनमा आउने अप्रत्याशित मोडलाई पनि चित्रण गरेको छ।
ट्रेलरमा अभिनेत्री सिम्रन खड्का शिक्षाप्रति दृढ अडान राख्ने युवतीको भूमिकामा देखिएकी छन्।
उनी विवाह गर्न इच्छुक नहुँदा पनि परिवारको आग्रह र सामाजिक प्रतिष्ठाको दबाबमा सम्झौता गर्न बाध्य हुन्छिन्।
विवाहपछि भने अटिजमबाट प्रभावित युवकको भूमिका निर्वाह गरेका अरुण क्षेत्रीसँगको सम्बन्ध र त्यसले सिर्जना गर्ने मानसिक तथा सामाजिक चुनौतीहरू कथाको मुख्य आधार बनेका छन्।
चलचित्रले पुरातन सोच, लैङ्गिक विभेद, महिलाले महिलाबाटै भोग्नुपर्ने असहयोग, शिक्षा हासिल गर्ने संघर्ष र विशेष आवश्यकता भएका व्यक्तिप्रति समाजको दृष्टिकोणलाई संवेदनशील ढंगले उठाएको देखिन्छ।
अटिजम भएका पात्रको व्यवहार, त्यसले परिवारमा ल्याउने उतारचढाव र ती परिस्थितिसँग जुधिरहेकी नवविवाहित युवतीको संघर्षलाई ट्रेलरमा भावुक शैलीमा प्रस्तुत गरिएको छ।
ग्रामीण परिवेश, जीवनसँग नजिकको कथा र कलाकारहरूको स्वाभाविक अभिनयले ट्रेलरलाई थप प्रभावशाली बनाएको छ।
विशेषगरी विवाहपछि आफ्नो सपना र पारिवारिक जिम्मेवारीबीच सन्तुलन खोजिरहेकी युवतीको मनोवैज्ञानिक द्वन्द्व ट्रेलरको मुख्य आकर्षण बनेको छ।
चलचित्रका निर्देशक डा.कपिल रिजाल हुन्।
चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ।
बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली पनि देखिएका छन्।
चलचित्रको कथा डा। भोला रिजालले तयार पारेका हुन्। पटकथा तथा संवाद लेखनमा निर्देशक कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहकार्य रहेको छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्।
इन्दू गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा आबद्ध छन्।
चलचित्रमा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको छ भने पाश्र्व संगीत एलिस कार्कीले तयार पारेका छन्।
छायांकन हरि हुमागाईं, सम्पादन मिलन श्रेष्ठ, ध्वनि मिश्रण मुकेश शाह, रङ संयोजन राजेन्द्र मोक्तान तथा कोरियोग्राफी रामजी लामिछाने र मौसम हिमालीको रहेको छ।
उल्लेखनीय कुरा के छ भने डा.भोला रिजालले करिब दुई दशकअघि यही नाममा ‘गौँथली’ चलचित्र निर्माण गरेका थिए, जसलाई नेपालको पहिलो गीति चलचित्र (म्यूजिकल फिल्म) मानिन्छ।
त्यही नामलाई निरन्तरता दिँदै यसपटक उहाँका छोरा डा. कपिल रिजालले समसामयिक सामाजिक विषयवस्तुमा आधारित नयाँ ‘गौँथली’ दर्शकमाझ ल्याउन लागेका हुन्।
साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने यस चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले गर्नेछन् भने यसको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।


































